काठमाडौँ । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिले आगामी जेठ १० गते धनगढीमा आयोजना हुने प्रदेशस्तरीय भेलामा सबै जिल्ला कार्यसमितिलाई अनिवार्य रूपमा सहभागी हुन निर्देशन दिएको छ।
प्रदेश सभापति वीरबहादुर बलायरले मंगलबार प्रदेशअन्तर्गतका ९ वटै जिल्लाका कार्यसमितिहरूलाई परिपत्र जारी गर्दै उक्त कार्यक्रमलाई “पार्टीको वृहत्तर एकता तथा पुनर्जागरण” सम्बन्धी भेला भएको उल्लेख गर्दै उपस्थितिलाई अनिवार्य बनाइएको जानकारी गराएका हुन्।
परिपत्रअनुसार उक्त कार्यक्रममा पार्टीका अग्रपंक्तिका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। साथै, पूर्व तथा वर्तमान केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रदेश पदाधिकारी, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, पूर्वमन्त्री तथा सांसदहरूलाई समेत आमन्त्रण गरिएको छ।
यसैगरी, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्री, महाधिवेशन प्रतिनिधि, निर्वाचन क्षेत्रका उम्मेदवार, जिल्ला कार्यसमिति सदस्य, पालिका तहका सभापति तथा स्थानीय जनप्रतिनिधिहरूलाई समेत सहभागिताका लागि समेटिएको छ।
भेला पार्टीभित्रको आन्तरिक एकता सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको जनाइएको छ। आयोजक पक्षका अनुसार कार्यक्रमले संगठनात्मक पुनर्गठन र समन्वयलाई थप सुदृढ बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रदेश सभापति बलायरलाई पूर्व सभापति शेरबहादुर देउवानिकट मानिन्छ। उनी हाल विशेष महाधिवेशनबाट गठित केन्द्रीय कार्यसमितिका केही कार्यक्रमहरूमा भने सहभागी भएका छैनन्। उक्त भेला संस्थापन इतर समूहको समर्थनमा आयोजना गरिएको चर्चा पनि पार्टीभित्र रहेको जनाइएको छ।


प्रतिक्रिया