भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नर्वे भ्रमणसँग सम्बन्धित एक भिडियो र त्यसपछि उत्पन्न घटनाक्रमका कारण प्रेस स्वतन्त्रता र सामाजिक सञ्जालको भूमिकाबारे अन्तर्राष्ट्रिय स्तरमा नयाँ बहसको बिषय बनेको छ ।
ओस्लोकी पत्रकार हेले लिङले आफूले प्रधानमन्त्री मोदीलाई गरेको प्रश्नपछि मेटासँग सम्बन्धित इन्स्टाग्राम, फेसबुक र व्हाट्सएप अकाउन्टहरू निलम्बन गरिएको दाबी गरेपछि यो विवाद थप चर्किएको हो । घटना नर्वेको ओस्लोमा आयोजित एक संयुक्त पत्रकार सम्मेलनका क्रममा भएको हो, जहाँ प्रधानमन्त्री मोदी नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरेसँगै उपस्थित थिए ।
उक्त कार्यक्रममा मोदी बाहिरिँदै गर्दा पत्रकार लिङले विश्वकै सबैभन्दा स्वतन्त्र प्रेसका पत्रकारहरूसँग किन प्रश्नोत्तर नगर्ने भन्ने प्रश्न गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि तीव्र रूपमा भाइरल भयो । उनले आफ्नो पोस्टमा विश्व प्रेस स्वतन्त्रता सूचकांकलाई उद्धृत गर्दै नर्वे उच्च स्थानमा रहेको तर भारत तुलनात्मक रूपमा तल रहेको टिप्पणी गरेकी थिइन्, जसले अनलाइनमा समर्थन र आलोचना दुवै प्रतिक्रिया निम्त्यायो ।
भिडियो भाइरल भएको केही समयपछि लिङले सामाजिक सञ्जालमार्फत आफ्नो इन्स्टाग्राम र फेसबुक अकाउन्ट निलम्बन गरिएको दाबी गरिन् । उनका अनुसार अकाउन्ट बन्द भएपछि उनी सन्देशहरू हेर्न र प्रतिक्रिया दिन असमर्थ भइन् । सामाजिक सञ्जालमा साझा गरिएका स्क्रिनसटहरूमा उनको इन्स्टाग्राम अकाउन्ट निलम्बित गरिएको र १८० दिनभित्र अपिल नगरे स्थायी रूपमा बन्द हुन सक्ने चेतावनी देखिएको बताइन्छ ।
तर यस विषयमा मेटाले हालसम्म कुनै आधिकारिक कारण सार्वजनिक गरेको छैन । यसैबीच विवाद भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनसम्म पुगेको थियो । त्यहाँ पत्रकार लिङले भारतको लोकतन्त्र, विश्वास र मानवअधिकारबारे प्रश्न उठाउँदै विदेश मन्त्रालयका सचिव (पश्चिम) सिबी जर्जलाई भारतमाथि किन विश्वास गर्न सकिन्छ र मानवअधिकारसम्बन्धी चिन्तालाई कसरी सम्बोधन गरिन्छ भनेर सोधेकी थिइन् ।
जवाफमा सिबी जर्जले भारतको संविधान, लोकतान्त्रिक संरचना र न्यायपालिकामाथि भरोसा राख्नुपर्ने उल्लेख गर्दै नागरिकका अधिकार उल्लंघन भएमा अदालत तथा संवैधानिक उपायमार्फत न्याय पाउन सकिने बताए । यो प्रश्नोत्तरपछि सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ, जहाँ एक पक्षले पत्रकारले प्रेस स्वतन्त्रताबारे महत्वपूर्ण प्रश्न उठाएको भन्दै समर्थन जनाएको छ भने अर्को पक्षले प्रश्नको शैली र कूटनीतिक सन्दर्भमाथि आलोचना गरेको छ ।
यसैबीच, लिङले आफू कुनै पनि विदेशी सरकार वा गुप्तचर निकायसँग सम्बन्धित नभएको स्पष्ट पार्दै आफू विदेशी जासुस नभएको भन्दै प्रतिक्रिया दिएकी छन् । उनले पत्रकारिताको दायित्व सत्तामा रहेका व्यक्तिलाई कठिन प्रश्न सोध्नु भएको बताउँदै आफूले केवल आफ्नो पेशागत भूमिका निर्वाह गरेको दाबी गरेकी छन् ।


प्रतिक्रिया