पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा आज वर्षाको सम्भावना

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा आज वर्षाको सम्भावना


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार केही जिल्लामा भारी वर्षा समेत भएको थियो । आज दिउँसो कोशीलगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । साथै मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको तराई भू–भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार कोशीलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा, मधेस प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका साथै बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एकदुई स्थानहरूमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने मधेसलगायत बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा, मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।