छिमेकी देश भारतका प्रधानन्यायाधीश सूर्यकान्तले दिएको ‘कक्रोच’ (साङ्लो) सम्बन्धी अभिव्यक्तिपछि सामाजिक सञ्जालमा एउटा नयाँ बहस सुरु भएको छ । यस अभिव्यक्तिको विरोधमा ‘कक्रोच जनता पार्टी’ नामको एउटा पार्टी नै बनेको छ र हेर्दाहेर्दै यस पार्टीको इन्स्टाग्राम ह्यान्डलमा १ करोड १७ लाख भन्दा बढी फलोअर्स पुगिसकेका छन् ।
यो सङ्ख्या लगातार वृद्धि हुने क्रममा छ । भारतीय सत्तारुढ पार्टी भाजपाको इन्स्टाग्राममा ८७ लाख र कंग्रेसका १ करोड ३२ लाख फलोअर्स छन्। कक्रोच जनता पार्टी महाराष्ट्रका अभिजीत दीपकेले बनाएका हुन् । यसको नारा हो, ‘धर्म निरपेक्ष, समाजवादी, लोकतान्त्रिक, अल्छी ।’ पार्टीको फलोअर्स एकै दिनमा ४० लाखभन्दा बढीले बढेका छन् ।
१५ मेमा केही मिडिया रिपोर्टहरूमा भारतका प्रधानन्यायाधीश सूर्यकान्तले एउटा मुद्दाको सुनुवाइका क्रममा केही बेरोजगार युवाहरूलाई कक्रोच (साङ्लो) सँग तुलना गरेका थिए । तर, उनले एक दिनपछि नै आफूले त्यसो नभनेको बताएका थिए। यदि कक्रोच जनता पार्टी सरकारमा आयो भने अवकाशपछि कुनै पनि प्रधानन्यायाधीशलाई राज्यसभा लगेर पुरस्कृत नगरिने पार्टीको घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा भनिएको छ, ‘यदि कुनै वैध भोट (मत) मेटाइयो भने मुख्य निर्वाचन आयुक्तलाई यूएपीए अन्तर्गत पक्राउ गरिनेछ, किनकि कसैको भोट हाल्ने अधिकार खोस्नु आतंकवादभन्दा कम होइन ।’
महिलाहरूका लागि ३३ प्रतिशत नभई ५० प्रतिशत आरक्षण दिने घोषणापत्रमा उल्लेख छ। यसका लागि सांसदहरूको सङ्ख्या पनि बढाइने छैन। मन्त्रिपरिषद् (क्याबिनेट) मा पनि महिलाहरूका लागि ५० प्रतिशत आरक्षण हुनेछ। पार्टीको घोषणापत्रमा अम्बानी र अडानीका सबै मिडिया संस्थाहरूको लाइसेन्स खारेज गरिने उल्लेख छ । यसको उद्देश्य स्वतन्त्र मिडियाले स्थान पाउन सकून् भन्ने रहेको छ । उनीहरूले गोदी मिडियाका एन्करहरूको बैंक खातामाथि छानबिन गरिने उल्लेख गरेका छन् ।
यदि कुनै सांसद वा विधायकले दल बदल गरेर अर्को पार्टीमा गएमा उनीहरूलाई चुनाव लड्न प्रतिबन्ध लगाइने घोषणापत्रमा उल्लेख छ । त्यस्तै, त्यस्ता नेताहरूलाई आगामी २० वर्षसम्म कुनै पनि सार्वजनिक पद नदिइने बताइएको छ । अभिजीत अमेरिकाको बोस्टन युनिभर्सिटीमा ‘पब्लिक रिलेसन’ मा स्नातकोत्तर गर्दैछन् ।
उनी २०२० देखि २०२३ सम्म आम आदमी पार्टी (आप) को सामाजिक सञ्जाल टोलीमा स्वयंसेवकका रूपमा पनि काम गरिसकेका छन् । उनले बीबीसीलाई बताए, ‘म एक्समा प्रधानन्यायाधीशको बयान हेर्दै थिएँ, जहाँ उनले प्रणालीको आलोचना गर्ने र आफ्नो राय दिने देशका युवाहरूलाई कक्रोच र परजीवीहरूसँग तुलना गर्दै थिए। मैले सामाजिक सञ्जालमा यस विषयमा आफ्नो राय राखेँ।’ उनले सबै कक्रोच एकसाथ आए भने के होला भनेर सोचेको उल्लेख गर्दै भने, ‘मलाई जेनजी र २५ वर्षसम्मका युवाहरूबाट अचम्मका जवाफहरू प्राप्त भए ।
उनीहरूले भने कि हामी एकजुट हुनुपर्छ र एउटा प्लेटफर्म बनाउनुपर्छ। त्यसपछि मैले सीजेपीबनाएँ ।’ अभिजीत दीपकेद्वारा बनाइएको कक्रोच जनता पार्टीको यतिबेला सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा १ करोड १७ लाख भन्दा बढी फलोअर्स पुगिसकेका छन् र यो सङ्ख्या लगातार बढ्दै गइरहेको छ ।
रिपोर्टहरूका अनुसार, अरविन्द केजरीवालको प्रश्नमा अभिजीतले स्पष्ट जवाफ दिँदै भनेका छन्, ‘उनीहरू चाहन्छन् भने आफ्नो समर्थन दिन सक्छन्, तर मलाई लाग्दैन कि जेनजीका कुनै पनि युवा यो आन्दोलनमा कुनै पनि स्थापित राजनीतिक दल समावेश होस् भन्ने चाहन्छन् ।’


प्रतिक्रिया