टेक्सास । अमेरिकाको टेक्सास राज्यस्थित फोर्ट वर्थ शहरमा नेपाली स्वाद, संस्कृति र मसिनो मसलाको सुगन्ध फैलाइरहेका छन्, नेपाली युवा शेफ निश्चल ढुङ्गाना । सामान्य परिवारबाट उठेर अन्तर्राष्ट्रिय खाद्य क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल ढुङ्गाना अहिले नेपाली र भारतीय परिकार अमेरिकी बजारमा लोकप्रिय बनाउने अभियानमा जुटेका छन् ।
फोर्ट वर्थ म्यागजिनले हालै प्रकाशित गरेको ‘रुटेड इन हिट’ शीर्षकको विशेष फिचरमा ढुङ्गानालाई ‘फोर्ट वर्थको उत्कृष्ट भारतीय र नेपाली खाना’ को नेतृत्वकर्ता भनेर चित्रण गरेको छ । टेक्सासको नर्थ फोर्ट वर्थमा रहेको ईस्पाइस एण्ड स्लाईस नामक रेस्टुरेन्टका कार्यकारी शेफ रहेका उनले नेपाली मौलिक स्वादलाई आधुनिक प्रस्तुतिसँग जोडेर विदेशी ग्राहकलाई आकर्षित गरिरहेका छन् ।
नेपालको पूर्वी क्षेत्र झापा जिल्लाका मूल निवासी निश्चल ढुङ्गाना सानैदेखि नेपाली परिकार, गाउँघरको स्वाद र सडक खानाप्रति आकर्षित थिए ।
अमेरिकामा उच्च शिक्षा अध्ययनका क्रममा उनले पहिलोपटक रेस्टुरेन्ट उद्योगमा ‘डिशवाशर’को रूपमा काम सुरु गरेका थिए । त्यही अनुभवले उनलाई ग्राहकको स्वाद, खानाको गुणस्तर र रेस्टुरेन्ट संस्कृतिको गहिरो ज्ञान दियो । पछि उनले इन्जिनियरिङतर्फको बाटो छोडेर पाककला (कुलिनरी आर्ट)मा पूर्ण रूपमा समर्पित हुने निर्णय गरे ।
उनको नेतृत्वमा रहेको ईस्पाइस एण्ड स्लाईस केवल एउटा रेस्टुरेन्ट मात्र होइन, दक्षिण एशियाली समुदायको सांस्कृतिक केन्द्रजस्तै बनेको छ । यहाँ नेपाली मःम, चटपटे, लाफिङ, सेकुवा, मटन तास, सुकुटी जस्ता परिकारसँगै भारतीय बटर चिकेन, टिक्का मसला र बिरयानी समेत लोकप्रिय छन् । रेस्टुरेन्टको विशेषता भनेको ‘लाइभ किचन’ अवधारणा हो, जहाँ ग्राहकले आफ्नै अगाडि खाना तयार भइरहेको प्रत्यक्ष देख्न सक्छन् ।
ढुङ्गाना मसला र स्वादको सन्तुलनमा विशेष ध्यान दिन्छन् । उनका अनुसार खाना केवल पेट भर्ने माध्यम नभई संस्कृति, भावना र स्मृतिसँग जोडिएको कला हो । त्यसैले उनले प्रत्येक परिकारमा नेपालीपनको आत्मा मिसाउने प्रयास गर्छन् । ग्राहकसँग प्रत्यक्ष संवाद गर्ने उनको शैलीले पनि उनलाई लोकप्रिय बनाएको छ ।
अमेरिकामा नेपाली खानाको पहुँच अझै सीमित रहेको अवस्थामा निश्चल ढुङ्गानाले नेपाली परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने महत्वपूर्ण भूमिका खेलिरहेका छन् । नेपाली युवाका लागि उनी परिश्रम, संघर्ष र प्रतिभाबाट विश्व बजारमा सफलता हासिल गर्न सकिने प्रेरणादायी उदाहरण बनेका छन् ।


प्रतिक्रिया