काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रथम राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै संगठनात्मक तयारीका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। महाधिवेशन व्यवस्थापन तथा निर्वाचन सम्बन्धी कामहरू चरणबद्ध रूपमा सम्पन्न गर्ने उद्देश्यले समयसीमा निर्धारण गरिएको हो।
पार्टीको केन्द्रीय निर्वाचन आयोगमार्फत जारी गरिएको कार्ययोजनामा देशभरका सबै जिल्ला तथा प्रदेश संरचनामा निर्वाचन संयन्त्र गठनदेखि प्रतिनिधि छनोटसम्मका प्रक्रिया समेटिएका छन्। महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने तय गरिएको छ।
कार्यतालिकाअनुसार ७७ जिल्लाका साथै ७ प्रदेश तहमा निर्वाचन समिति गठन गर्ने प्रक्रिया जेठ ७ गतेदेखि सुरु भई जेठ १५ भित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ। संगठनात्मक निर्देशन तथा आवश्यक कागजात वितरणसँग सम्बन्धित कार्य भने जेठ १० भित्र पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, स्थानीय तहदेखि जिल्ला तहसम्मका अधिवेशनका प्रतिवेदनहरू संकलन गर्ने काम जेठ २० गतेसम्म सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको छ। जिल्ला अधिवेशन तथा निर्वाचनसँग सम्बन्धित अन्तिम प्रतिवेदन बुझाउने मिति जेठ ३० गते निर्धारण गरिएको छ।
महाधिवेशन प्रतिनिधिहरूको नामावली तयार गरी पेश गर्ने अन्तिम अवधि जेठ २५ गतेसम्म कायम गरिएको छ। यस्तै, प्रदेश अधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण असार ५ गतेभित्र केन्द्रीय तहमा बुझाइसक्नुपर्ने निर्देशन दिइएको छ।
निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोगबारे छलफल तथा तयारीका लागि जेठ ७ देखि असार ५ सम्मको अवधि छुट्याइएको छ।
केन्द्रीय निर्वाचन आयोग (राष्ट्रिय स्वतन्त्र पार्टी) का उपप्रमुख राम गुरुङद्वारा हस्ताक्षरित सूचनामा प्रदेश समितिहरूलाई आ-आफ्नो क्षेत्रका जिल्ला नेतृत्वसँग समन्वय गर्दै निर्धारित कार्यतालिका अनुसार सम्पूर्ण तयारी प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरिएको छ।



प्रतिक्रिया