अमेरिका–इरान वार्ताः ओमानलाई हस्तक्षेप नगर्न राष्ट्रपति ट्रम्पको चेतावनी

अमेरिका–इरान वार्ताः ओमानलाई हस्तक्षेप नगर्न राष्ट्रपति ट्रम्पको चेतावनी



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्ताका बीच ओमानलाई यस प्रक्रियामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् ।

बुधवार ह्वाइट हाउसमा आयोजित मन्त्रिपरिषद् बैठकका क्रममा बोल्दै राष्ट्रपति ट्रम्पले रणनीतिक रूपमा महत्वपूर्ण हर्मज जलडमरूमध्य माथि कसैको नियन्त्रण हुन नदिने र अमेरिकाले यसको निरन्तर निगरानी गर्ने स्पष्ट पारे ।

इरान र ओमानलाई उक्त जलमार्ग नियन्त्रण गर्न दिने खालको कुनै अल्पकालीन सम्झौता स्वीकार गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले भने, ‘हुँदैन, यो जलमार्ग सबैका लागि खुला रहनेछ। यो अन्तर्राष्ट्रिय जलक्षेत्र हो र यसलाई कसैले पनि आफ्नो नियन्त्रणमा राख्न पाउने छैन। हामी यसको निगरानी गर्नेछौँ ।’

ओमानको भूमिकाबारे टिप्पणी गर्दै ट्रम्पले ओमानले अन्य राष्ट्रहरूले जस्तै व्यवहार गर्नुपर्ने बताए । अन्यथा अमेरिकाले कडा कदम चाल्नुपर्ने हुने बताए । इरानी सरकारी टेलिभिजनले अमेरिका र इरानबीच एक अनौपचारिक सम्झौताको मस्यौदा तयार भएको दाबी गरेलगत्तै राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।

इरानी सञ्चारमाध्यमका अनुसार उक्त मस्यौदामा हर्मज जलडमरूमध्यको यातायात व्यवस्थापन इरान र ओमानले संयुक्त रूपमा गर्ने, अमेरिकाले इरानी बन्दरगाहमा लगाएको नाकाबन्दी हटाउने र सो क्षेत्रबाट अमेरिकी सेना फिर्ता लैजाने उल्लेख गरिएको थियो ।

यद्यपि, अमेरिकी प्रशासनले इरानी सञ्चारमाध्यमको उक्त दाबीलाई पूर्ण रूपमा भ्रामक र कपोलकल्पित भन्दै अस्वीकार गरेको छ । अमेरिकाले हर्मज जलडमरूमध्यमा स्वतन्त्र नौवहन कायम राख्नु आफ्नो प्राथमिकता रहेको पुनः दोहोर्याएको छ ।