ट्रम्पको तस्बिरसहित २५० डलरको स्मारक नोट छाप्ने तयारी

ट्रम्पको तस्बिरसहित २५० डलरको स्मारक नोट छाप्ने तयारी



संयुक्त राज्य अमेरिकाले स्वतन्त्रता घोषणाको २५०औँ वार्षिकोत्सवको अवसरमा विशेष स्मारक मुद्रा जारी गर्ने तयारी अघि बढाएको छ, जसअन्तर्गत २५० अमेरिकी डलरको नोटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर र हस्ताक्षर समावेश गर्ने प्रस्ताव सार्वजनिक भएको छ ।

अमेरिकी कोष विभागका अधिकारी स्कट बेसेन्टका अनुसार उक्त विशेष नोटको प्रारम्भिक डिजाइन तयार पारिएको छ । यद्यपि नोट औपचारिक रूपमा जारी गर्ने वा नगर्ने अन्तिम निर्णय भने अमेरिकी संसद्बाट हुने प्रावधान रहेको छ ।

हालको कानुनी व्यवस्थाअनुसार जीवित व्यक्तिको तस्बिर अमेरिकी मुद्रा वा सरकारी नोटमा प्रयोग गर्न पाइँदैन, जुन नियम सन् १८६६ यता कार्यान्वयनमा छ । यही कारण विगत लामो समयदेखि जीवित अमेरिकी व्यक्तित्वहरूको चित्र मुद्रामा प्रयोग गरिएको छैन ।

तर, वर्तमान तथा पूर्व राष्ट्रपतिहरूको छवि मुद्रामा समावेश गर्न सकिने गरी कानुन संशोधन गर्ने प्रस्ताव गत वर्ष संसद्मा दर्ता भएको जनाइएको छ । सो प्रस्ताव पारित हुने अपेक्षासहित ट्रेजरी विभागले डिजाइन तयारी अघि बढाएको बताइएको छ ।

यस विषयमा आयोजित पत्रकार सम्मेलनमा बेसेन्टले विधेयक पारित हुने सम्भावनालाई ध्यानमा राख्दै प्रारम्भिक डिजाइन प्रक्रिया अघि बढाइएको स्पष्ट पारेका छन् ।

अमेरिकी सञ्चारमाध्यम द वासिङ्टन पोस्ट का अनुसार राष्ट्रपति ट्रम्पद्वारा नियुक्त कोषाध्यक्ष ब्रान्डन बीचले सम्बन्धित मुद्रण निकायलाई डिजाइन तथा उत्पादन प्रक्रिया तीव्र बनाउन दबाब दिइरहेको उल्लेख छ । प्रारम्भिक डिजाइनमा “अमेरिका २५० वार्षिकोत्सव” भन्ने लेख पनि समावेश गरिएको जनाइएको छ ।

यसबीच, ट्रम्प सन् २०२५ मा पुनः राष्ट्रपति बनेपछि सरकारी संरचनामा आफ्नो नाम र छवि विस्तार गर्ने प्रयास बढेको भन्दै विपक्षीहरूले आलोचना गर्दै आएका छन् । न्याय मन्त्रालयसहित केही संघीय संरचनामा उनका ठुला तस्बिर राखिएको तथा राष्ट्रिय कला केन्द्रको नामकरणमा समेत परिवर्तन गरिएको उल्लेख छ ।

संसद्को तल्लो सदनमा रिपब्लिकनको बहुमत भए पनि सिनेटमा विधेयक पारित गर्न ६० मत आवश्यक पर्ने भएकाले डेमोक्र्याटहरूले प्रस्ताव रोक्ने प्रयास गर्न सक्ने अनुमान गरिएको छ ।