काठमाडौं । आज (शुक्रबार) अर्थात १९ औँ गणतन्त्र दिवस । यसै १९ औँ गणतन्त्र दिवसको अवसरबाट नै कार्यकारी प्रमुखबाट सम्बोधन गर्ने परम्परा समेत पहिलो पटक तोडिएको छ । यो परम्परालाई पहिलो पटक प्रधानमन्त्री बालेन्द्र शाह बालेनले तोडिदिएका हुन ।
संघीय लोकतान्त्रिक गणतन्त्र १९ वर्ष प्रवेशका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेसँगै विगतको परम्परा तोडिएको हो ।प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह कार्यक्रममा सहभागी भए पनि सम्बोधन गर्न चाहेनन् ।
यद्यपि उनले विशेष समारोहलाई सम्बोधन गरिदिन राष्ट्रपति पौडेललाई पत्राचार गरेका थिए । गणतन्त्र दिवसको समारोहलाई पहिलो पटक सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षा पूरा नहुने बताए ।
यसअघि राष्ट्रपति, उपराष्ट्रपति, राज्यका विशिष्ट पदाधिकारी, विदेशी नियोगका अतिथिहरूको उपस्थितिमा सरकार प्रमुखले सम्बोधन गर्ने परम्परा थियो । प्रधानमन्त्री भएपछि पहिलो पटक चैत २६ गते भक्तपुरस्थित नेपाली सेनाको कार्यक्रममा सम्बोधन गरेका बालेनले त्यस यता सार्वजनिक समारोहमा सम्बोधन गरेका छैनन् ।
गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक रहेका प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसको शुभकामना दिन नचाहेको विषयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
अझ रोचक विषय त यो छ कि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सो पार्टीका सभापति रवि लामिछानेले पनि गणतन्त्र दिवसको अवसरमा कुनै शुभकामना दिएका छैनन् ।
हजारौँ सहिदको बलिदानबाट प्राप्त गणतन्त्रप्रति सरकार प्रमुख र सरकारको नेतृत्व गरिरहेको दलबाटै शुभकामना नआउँदा व्यवस्थाको अवमूल्यन गर्न खोजिएको हो कि भन्ने आशङ्का बढेको छ ।


प्रतिक्रिया