काठमाडौँ । कम्बोडिया सरकारले भिसा अवधि समाप्त भएपछि पनि त्यहीँ बस्दै आएका ६०२ जना नेपाली नागरिकमाथि लगाइएको जरिबाना शुल्क मिनाहा गरेको छ ।
थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको पहलपछि कम्बोडिया पक्षले उक्त निर्णय गरेको हो, जसले प्रभावित नेपालीलाई स्वदेश फर्कने प्रक्रियालाई सहज बनाएको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार हालसम्म ३०२ जना नेपाली अझै कम्बोडियामै रहेका छन् र उनीहरूलाई नेपाल फर्काउने तयारी भइरहेको छ । सम्बन्धित व्यक्तिहरूलाई आवश्यक ट्राभल डकुमेन्ट समेत उपलब्ध गराइसकिएको जनाइएको छ ।
कम्बोडियाको कानुनी व्यवस्थाअनुसार भिसा अवधि समाप्त भएपछि बस्ने विदेशी नागरिकलाई प्रतिदिन १० अमेरिकी डलर जरिबाना लाग्ने प्रावधान छ ।
दूतावासले भिसा अवधि समाप्त भइसकेका सबै नेपालीलाई एक साताभित्र स्वदेश फर्कन आग्रह गरेको छ । तोकिएको समयसीमा पालना नगर्नेहरूलाई भने त्यहाँको नयाँ कानुनअनुसार थप जरिबाना तथा कैद सजायको व्यवस्था लागू हुने चेतावनी दिइएको छ ।
नयाँ कानुनी प्रावधानअनुसार अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रमा संलग्न हुने वा भिसा समाप्त भएपछि पनि बसिरहने विदेशीलाई ५ लाख अमेरिकी डलरसम्म जरिबाना तथा आजीवन कैदसम्मको सजाय हुन सक्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।
यसैबीच, जरिबाना तथा शुल्क मिनाहा भएका व्यक्तिहरूले स्वदेश फर्कन आवश्यक हवाई टिकटको व्यवस्था आफैँ गर्नुपर्नेछ । टिकट व्यवस्थापन गरेपछि त्यसको जानकारी कम्बोडियाको अध्यागमन निकायमा गराउनुपर्ने प्रावधानसमेत लागू हुने दूतावासले स्पष्ट पारेको छ ।


प्रतिक्रिया