काठमाडौं । कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीको बोलीमा लगाम लगाउन प्रधानमन्त्री बालेन्द्र शाहसँग अनुरोध गरेका छन ।
भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीको खुट्टा भाँचिदिनू भनि दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै कांग्रेस उपसभापति शर्माले यस्तो बताएका हुन ।
शर्माले भने, ‘एकजना मन्त्रीजी सडकमा पुग्नु भएछ । र, भन्नु भएछ कि यो बाटो निर्माणमा ढिलो जो भइरहेको छ । निर्माण व्यवसायीलाई भेट्नुभो भने खुट्टा भाचिदिनुस् ।’
शर्माले सोमबार भिडियो मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन । कैलालीमा कर्मचारीहरुले एक श्रमिक महिलाको टेम्पोलाई भिरबाट खसालिदिएको घटना र सिरहामा परीक्षा हलमा भेटिएका ५०० भन्दा बढी मोबाइललाई पानीमा खन्याएर नष्ट गरेको घटना पनि शर्माले प्रधानमन्त्री शाहलाई सुनाएका छन् ।
‘प्रधानमन्त्रीज्यू समाज कता जाँदै छ ? यहाँलाई सोधौ लाग्छ । तर, यहाँले पनि चुनावकै बेलामा के भन्नु भएको थियो भने यदि बाटो निर्माण गर्न ढिलो भयो भने रुखमा बाँधेर समाधान गर्नुपर्छ,’ शर्माले प्रधानमन्त्रीको बोली स्मरण गर्दै भने ।
कुनै चोरीमा चोरलाई सजाय दिनुको सट्टा दुइटै हात काटिएको घटना जस्तो मन्त्रीहरुको अभिव्यक्ति देखिएको शर्माले टिप्पणी समेत गरेका छन ।


प्रतिक्रिया