काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले पार्टी महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराईलाई पार्टीभित्रको संकट समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक खुला पत्रमा झाँक्रीले पार्टीका दुई पूर्व अखिल अध्यक्ष सम्बोधन गर्दै वर्तमान परिस्थितिमा देश, पार्टी सदस्य र मतदाताले उनीहरूलाई नियालिरहेको उल्लेख गरेकी छन् ।
उनले नेपाली समाजका चुनौती र त्यसको समाधानबारे पार्टीभित्र साझा दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएकी छन् । त्यसपछि जनतामाझ पुगेर पार्टीलाई अद्यावधिक गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समेत आवश्यक सुधारका विषयमा सहमत गराउनुपर्ने उनको सुझाव छ ।
‘सबैभन्दा पहिले आजको नेपाली समाज, यसका घटनाक्रम र भएका–गराइएका घटनाबारे पार्टीको दृष्टिकोण एउटै बनाऔं । त्यसपछि जनताको बीचमा जाऔं र पार्टीलाई अपडेट गरौं,’ उनले लेखेकी छन्, ‘त्यसपछि समाधानका लागि सोचिएका विषयमा बालाई सहमत गराउनुस् वा बाको विचारमा सहमत भएर अगाडि बढ्नुस् ।’
झाँक्रीले पार्टीभित्रका समस्या केवल अध्यक्ष ओलीमा सीमित नरहेको पनि उल्लेख गरेकी छन् । ‘आजको समाजमा कसैका लागि बा समस्या हुन सक्छन् । तर म भन्छु, बा मात्र समस्या होइनन् । समस्या भित्र र बाहिर दुवैतिर छन् । हामी कार्यकर्तामा पनि छन्,’ उनले लेखेकी छन् ।
उनले पार्टीका समस्या र चुनौतीको वस्तुपरक विश्लेषण आवश्यक रहेको बताउँदै पार्टीको दर्शन, सिद्धान्त, विचार र इतिहासको आलोकमा निष्कर्ष निकाल्नुपर्ने धारणा राखेकी छन् ।
झाँक्रीले महासचिव पोखरेल र उपमहासचिव भट्टराईलाई पुराना बोझ त्यागेर नयाँ ढंगले सोच्न आग्रह गर्दै अध्यक्ष ओलीलाई साथमै लिएर अगाडि बढ्न सुझाव दिएकी छन् ।
‘एकले अर्कोलाई दोष लगाएर होइन, सामूहिक कमजोरी हाम्रै हो भन्ने ठानेर अगाडि बढ्ने वातावरण बनाउन पहलकदमी लिनुस्,’ उनले लेखेकी छन् ।


प्रतिक्रिया