राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरको नयाँ सिरिजको बैंक नोट चलनचल्तीमा ल्याएको छ। केन्द्रीय बैंकले जारी गरेको सूचनाअनुसार नयाँ नोट असार ३ गतेदेखि औपचारिक रूपमा प्रचलनमा आएको हो।

राष्ट्र बैंकका अनुसार नयाँ नोटको आकार, रङ र आधारभूत स्वरूप हाल प्रचलनमा रहेका ५०० रुपैयाँका नोटजस्तै रहनेछ। तर नोटमा थप सुरक्षा विशेषता तथा केही नयाँ डिजाइन समावेश गरिएको छ, जसले यसको पहिचान र सुरक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

नोटको अगाडिको भागमा नेपालको गौरव सगरमाथाको चित्र राखिएको छ भने लालिगुराँसको वाटरमार्क पनि समावेश गरिएको छ। दृष्टिविहीन व्यक्तिले छामेर नोटको मूल्य पहिचान गर्न सक्ने विशेष चिन्हसमेत राखिएको राष्ट्र बैंकले जनाएको छ। नयाँ नोटमा गभर्नर विश्वनाथ पौडेल को हस्ताक्षर रहेको छ।

त्यस्तै नोटको पछाडिको भागमा नेपालको दुर्लभ वन्यजन्तु पाटेबाघको चित्र समावेश गरिएको छ। राष्ट्र बैंकले नयाँ नोट जारी भए पनि यसअघि प्रचलनमा रहेका ५०० रुपैयाँका सबै नोटहरू कानुनी मुद्राका रूपमा यथावत् चलनचल्तीमा रहने स्पष्ट पारेको छ।

केन्द्रीय बैंकले मुद्रा राष्ट्रको सम्पत्ति भएकाले नोटको संरक्षण, सदुपयोग तथा सावधानीपूर्वक प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। नयाँ सिरिजको नोटले नेपाली मुद्राको सुरक्षा र विश्वसनीयता थप मजबुत बनाउने अपेक्षा गरिएको छ।