काठमाडौं । केही दिनयता लगातार बढिरहेको सुनको मूल्य बुधबार भने ओरालो लागेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा पनि सुन र चाँदी दुवैको भाउ सामान्य रूपमा घटेको हो।
घरेलु बजारमा सुनको मूल्यमा बुधबार गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घट्दै २ लाख ९७ हजार ३०० रुपैयाँमा कायम भएको छ।
यसअघि मंगलबार सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। लगातार उकालो लागिरहेको सुनको मूल्यमा आएको यो गिरावटलाई बजारमा सामान्य करेक्सनका रूपमा हेरिएको छ।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य केही नरम बनेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो। पछिल्ला हप्ताहरूमा विश्वव्यापी आर्थिक अनिश्चितता, भू–राजनीतिक तनाव तथा सुरक्षित लगानीप्रतिको आकर्षणका कारण सुनको मूल्य उच्च स्तरमा पुगेको थियो।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १० रुपैयाँले सस्तिँदै ४ हजार ९८० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
यद्यपि मूल्यमा सामान्य गिरावट आए पनि सुन अझै ऐतिहासिक उच्च तहकै आसपास कारोबार भइरहेको छ। आगामी दिनमा सुन–चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको अवस्था, अमेरिकी डलरको उतारचढाव, केन्द्रीय बैंकहरूको मौद्रिक नीति तथा विश्व राजनीतिक घटनाक्रमबाट प्रभावित हुने अनुमान गरिएको छ।


प्रतिक्रिया