काठमाडौं । एमाले नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा खरो रुपमा उठेको छ । एमालेले हिजो बिहीवार कपिलवस्तुको चन्द्रौटामा आयोजना गरेको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा नेतृत्व पुनर्गठनको माग खरो रुपमा उठेको हो ।
कार्यक्रममा सहभागी अगुवा कार्यकर्ताहरुको धारणा नेतृत्व परिवर्तनको पक्षमा देखिएको थियो । लुम्बिनी प्रदेशअन्तर्गत जिल्ला कमिटीका पदाधिकारी र केन्द्रीय सदस्य सहभागी कार्यक्रममा बोल्ने सबै जिल्ला अध्यक्षहरु पुनर्गठनको पक्षमा देखिएका छन् । जिल्ला अध्यक्ष मात्र होइन भेलामा सहभागी सबैले नेतृत्व पुनर्गठनको माग राखेका थिए । पुनर्गठन नगरे पार्टी अस्तित्व जोगाउन नसकिनेमा सबैको मत देखिएको थियो ।
नेतृत्व पुनर्गठनको मोडालिटीमा भने केही फरक मत आएको ती अध्यक्षले जानकारी दिए । कतिपय साथीले पार्टी अध्यक्ष केपी शर्मा ओली मात्र होइन, पदाधिकारीसमेत आवश्यकताअनुसार घटुवा वा नेतृत्व छाड्नुपरे पनि तयार हुनुपर्ने गरी कुरा उठेको थियो ।
भेलामा सहभागी अधिकांशको धारणा पार्टी नेतृत्व परिवर्तनको पक्षमा देखिएको छ । एकाधले अध्यक्ष ओलीलाई मात्र दोषारोपण गरेर नहुने धारणा राखे पनि प्रायः सबैको मत मूल नेतृत्वमाथि नै केन्द्रित थियो ।
कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, सचिव छविलाल विश्वकर्मा, नेता प्रदीप ज्ञवालीसहितका प्रदेश कमिटीका पदाधिकारी, १२ वटै जिल्ला कमिटीका पदाधिकारी र लुम्बिनी प्रदेशबाट केन्द्रीय कमिटीमा रहेकाहरु यो समीक्षामा सहभागी भएका थिए ।


प्रतिक्रिया