काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद खडगबहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थर्काउने र हुकुम चलाउनेहरू को हुन् ? भनी प्रश्न गरेका छन् । प्रधानमन्त्री कार्यालयमा बोलाएर कानुन र संविधानले नचिनेका गिरोहरुहरुले मुलुकमा हुकुम चलाउने काम गरेको भन्दै सरकारसँग उनीहरू को हुन ? प्रश्न प्रश्न गरेका हुन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकको सुरुमै बोल्दै सांसद बुढाले संविधान र कानुनले नचिनेकोहरुले प्रधानमन्त्री कार्यालयमा बसेर कालो चस्मा लगाएर मुलुकमाथि शासन चलाउन खोज्नेहरू नयाँ गिरोहको रूपमा रहेको उनको आरोप थियो । सांसद बुढाले सबै मन्त्रालयहरूमा मन्त्री देखाउने अनुहारहरू मात्रै भएको तर त्यहाँ चलाउने अर्कै अदृश्य शक्तिहरू रहेको जिकिर पनि गरे ।
उनले भने ‘प्रधानमन्त्रीले बुझ्नुभएको छ कि छैन ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्र होइन । संवैधानिक अंग हो । यसको काम आवश्यक परेको बेला सरकारमाथि पनि निगरानी राख्ने र राज्य शक्तिमा चेक एण्ड ब्यालेन्स कायम राख्ने हो । अख्तियार कसैको गोजीको संस्था होइन ।’
सांसद बुढाले मन्त्रालयमा देखिएका ती अदृश्य शक्ति र व्यक्तिहरू मुलुक र लोकतन्त्रका लागि शुभसंकेत नभएको पनि बताए ।


प्रतिक्रिया