मेसीका पिता गम्भीर बिरामी

मेसीका पिता गम्भीर बिरामी

मृत्युको हल्ला फैलाउने अर्जेन्टिनी टीभी होस्टको जागीर चैट



अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसीका पिता होर्खे मेसी यति बेला अस्वस्थ छन । परिवारका तर्फबाट जारी विज्ञप्तिमा उनी स्वास्थ्य समस्याबाट गुज्रिरहेको उल्लेख छ । सामाजिक सञ्जालमा होर्खे मेसीको निधन भएको हल्ला फैलिएको थियो ।

अजेन्टिनी टेलिभिजनकी प्रस्तोता फ्लोरेन्सीया पेनाले उनको निधनको झूटो समाचार सम्प्रेषण गरेकी थिइन् । अल्जेरियाविरुद्धको म्याचमा पहिलो गोलपछि मेसीको आँखामा आँशु देखिएको थियो । त्यसबेला अर्जेन्टिनाको लुजु टिभीबाट प्रत्यक्ष प्रशारणमा रहेकी पेनाले भनेकी थिइन्, ‘म नराम्रो खबर सुनाउन चाहन्नँ, तर मेसीका पिता भर्खरै बित्नुभयो ।’

पेना अगाडि भन्दै गइन्, ‘विश्वकप चलिरहेकै बीचमा उनलाई प्रतियोगिता छाडेर जानुपर्ने अवस्था आएको छ।’ आफ्नो समाचार झूटो सावित भएपछि पेनाले जागीर नै छोडेकी छन् । उनले एक वक्तव्य जारी गर्दै क्षमायाचना गर्नुका साथै आफू लुजु टिभीबाट अलग भइसकेको पुष्टि गरिन् ।

उनले भनेकी छन्, ‘मेसी परिवारले अहिले कस्तो पीडादायी अवस्था भोगिरहेको होला भन्ने म कल्पना गर्न सक्छु र त्यसका लागि म उहाँहरूसँग क्षमायाचना गर्छु । यस्तो पीडाको माध्यम बन्नुपरेकोमा म अत्यन्तै लज्जित छु ।’ उनले थपिन्, ‘म एउटा कुरा स्पष्ट पार्न चाहन्छु, यो गलत जानकारी मलाई प्रत्यक्ष प्रसारण भइरहेका बेला कार्यक्रमको उत्पादन टोलीले पुष्टि गरिएको भन्दै उपलब्ध गराएको थियो र मैले त्यसलाई विश्वास गरेँ ।’

मेसीको परिवारका तर्फबाट जारी विज्ञप्तिमा होर्खे अहिले चिकित्सकहरूको निगरानीमा रहेको र स्वास्थ्यमा अनुकूल प्रगति भइरहेको उल्लेख छ ।’ तर होर्खे मेसीको स्वास्थ्य समस्याबारे थप विवरण सार्वजनिक गरिएको छैन । परिवारले झूटा अफवाह नफैलाउन अनुरोध गरेको छ ।

विभिन्न हल्ला र अड्कलबाजीबाट टाढा रहन आग्रह गर्दै विज्ञप्तिमा परिवारको गोपनीयताको सम्मान गर्न अनुरोध गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा हामी जिम्मेवारी, संयमता र मानवीय संवेदनशीलताको अपेक्षा गर्छौं । कुनै व्यक्तिको स्वास्थ्य अवस्था र उनका परिवारजनको मानसिक शान्ति अड्कलबाजी वा गैरजिम्मेवार सञ्चारमाध्यमको चासोको विषय बन्नु हुँदैन ।’

परिवारले थपेको छ, ‘हामीप्रति देखाइएको माया, सम्मान र चासोप्रति हार्दिक आभारी छौं । साथै, यो प्रक्रियाका क्रममा होर्खे र सम्पूर्ण परिवारको गोपनीयता, निजता र व्यक्तिगत सम्मान कायम राख्न अनुरोध गर्दछौँ ।’

अर्जेन्टिनाको विश्वकपको पहिलो खेलपछि आयोजित पत्रकार सम्मेलनमा मेसीले अल्जेरियाविरुद्ध पहिलो गोल गरेपछि आफू भावुक भएर रुनुको कारण खुलाएका थिए । उनले पछिल्ला केही दिन आफूले कठिन समयबाट गुज्रिनुपरेको बताएका थिए ।