काठमाडौं । यस वर्षको मनसुन शुक्रबार कोशी प्रदेशबाट नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सामान्यतः जुन १३ (जेठ ३०) मा मनसुन भित्रिने गरे पनि यसपालि ६ दिन ढिलो भएको हो ।
विभागले प्रशान्त महासागरमा विकसित एल निनो प्रणालीका कारण मनसुन ढिलो भएको जनाएको छ । गत वर्ष मनसुन औसत समयभन्दा १५ दिनअघि नै नेपाल प्रवेश गरेको थियो । यस वर्ष औसतभन्दा कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण विभागले गरेको छ ।
पछिल्लो २४ घण्टामा तनहुँको कोटगाउँमा सबैभन्दा धेरै १३६ मिलिमिटर वर्षा मापन गरिएको छ । बन्दीपुरमा ८१, दमौलीमा ६९, बागलुङको श्रीकाङमा ७५, कास्कीको याङ्जाकोटमा ६४.४ र गोरखामा ५४ मिलिमिटर वर्षा भएको छ ।
देशका अन्य स्थानमा पनि हल्कादेखि भारी वर्षासम्म भएको विभागले जनाएको छ । आज कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोशी र मधेसका तराई क्षेत्रमा पनि वर्षाको सम्भावना छ। विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशका तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर तथा बागमती र गण्डकीका केही तराई क्षेत्रमा तातो दिनको अवस्था कायम रहने सम्भावना छ ।


प्रतिक्रिया