काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटनस्थलमा कालो पोसाक र कालो चस्मा लगाएका युवाहरूको बाक्लो उपस्थिति देखिएपछि सहभागी तथा सर्वसाधारणको ध्यान उनीहरूप्रति आकर्षित भएको छ ।
तलदेखि माथिसम्म कालो ड्रेस र कालो चस्मामा सजिएका हट्टाकट्टा युवाहरू वास्तवमा चितवनस्थित एक निजी सुरक्षा कम्पनीका सुरक्षाकर्मी रहेको खुलेको छ । उनीहरूलाई ‘गढी सेक्युरिटी’ कम्पनीले महाधिवेशनस्थलको सुरक्षा व्यवस्थापनका लागि परिचालन गरेको हो ।
भरतपुरस्थित बालमन्दिर क्षेत्रमा रहेको गढी सेक्युरिटी कम्पनीका मार्केटिङ म्यानेजर राजेन्द्र गोलेका अनुसार बाउन्सर र सुरक्षागार्डसहित १०० जनाको टोली महाधिवेशनस्थल तथा पार्किङ क्षेत्रमा खटाइएको छ ।
रास्वपाको पहिलो महाधिवेशन उद्घाटन कार्यक्रम जिल्ला प्रहरी कार्यालय चितवन नजिक रहेको गेष्टहाउस चौरमा आयोजना गरिएको छ । महाधिवेशनमा सहभागी हुने सवारीसाधनका लागि पारस बसपार्क, मैयादेवी कलेज र विशालचोक क्षेत्रमा पार्किङ व्यवस्था मिलाइएको छ ।
गढी सेक्युरिटीले चितवनमा आयोजना हुने विभिन्न सभा, सम्मेलन, महोत्सव तथा सार्वजनिक कार्यक्रमहरूमा समेत सुरक्षा सेवा प्रदान गर्दै आएको छ । महाधिवेशनको सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन कम्पनीका सुरक्षाकर्मीहरू विभिन्न स्थानमा परिचालित गरिएको जनाइएको छ ।


प्रतिक्रिया