विपिनलाई महामन्त्री बनाउन कवीन्द्रलाई क्याबिनेट पठाइने

विपिनलाई महामन्त्री बनाउन कवीन्द्रलाई क्याबिनेट पठाइने

मन्त्री छोडे प्रतिभालाई उपसभापतिको अफर


ग्लोब नेपाल
0
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पदाधिकारी चयनमा सहमतिको लागी प्रयास गरिरहेका छन् । उक्त प्रयासमा केही नयाँ प्रस्तावमाथि छलफल भइरहेको बताइएको छ ।

रास्वपा उच्च स्रोतका अनुसार पदाधिकारीका आंकाक्षीलाई मन्त्री सेट गर्ने आश्वासन पनि लामिछानेले दिइरहेका बुझिएको छ । सभापति लामिछानेले महामन्त्रीमा कवीन्द्र बुर्लाकोटीको विकल्पमा विपिन आचार्य ल्याउने प्रयास भएको स्रोतले जानकारी दिएको छ ।

बुर्लाकोटीलाई मन्त्री बनाउने र आचार्यलाई महामन्त्रीमा सेट गर्ने गरी लामिछानेले प्रयास गरेको स्रोतको दाबी छ । रास्वपा स्रोतले उल्लेख गरेअनुसार लामिछानेले महिला कोटाको उपसभापतिमा प्रतिभा रावललाई अघि सार्ने र उनलाई मन्त्रीबाट फिर्ता बोलाउने प्रस्ताव गरेका छन् ।

रावललाई फिर्ता बोलाएपछि रिक्त रहने मन्त्रीमा बुर्लाकोटीलाई पठाउने गरी छलफल चलेको छ । त्यसो गर्दा विपिन आचार्यलाई महामन्त्रीमा ल्याउन सजिलो हुने बुझाइमा लामिछाने देखिएका छन् ।

तर, पार्टीको महामन्त्री छोडेर बुर्लाकोटीले मन्त्रीमा सहमति जनाउँछन् कि जनाउँदैनन् भन्ने चासोको विषय बनेको छ । अर्कातिर मन्त्री छोडेर रावलले उपसभापतिमा चित्त बुझाउने सम्भावना के हुन्छ ?

भन्ने प्रश्न रहेको छ । अनि, संकटको बेला साथ दिएर कोषाध्यक्ष पद धानेकी लिमा अधिकारीले पनि रावलका लागि उपसभापति नछोड्ने सम्भावना रहेको रास्वपा नेताहरू बताइरहेका छन् । त्यति मात्र होइन, मनिष झा र शिशिर खनाल पनि महामन्त्रीको दाबी छोड्ने पक्षमा देखिएका छैनन् ।

उनी महामन्त्रीका लागि चुनावै लड्नेसम्मको तयारीमा रहेका छन् । त्यसैले, लामिछानेको प्रयासअनुसार सहमति भइहाल्ने सम्भावना नभएको रास्वपाका नेताहरू दाबी गर्छन् । यद्यपि, लामिछाने चुनावभन्दा सहमतिबाटै पदाधिकारी चयन गर्ने पक्षमा रहेका छन् ।