५२ वर्षपछि कंगोले रच्यो इतिहास

५२ वर्षपछि कंगोले रच्यो इतिहास


ग्लोब नेपाल
324
Shares

काठमाडौं। कंगोले उत्कृष्ट पुनरागमन गर्दै उज्बेकिस्तानलाई ३–१ ले पराजित गरी पहिलो पटक फिफा विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा पहिलो हाफमा पछि परेको कंगोले दोस्रो हाफमा सानदार प्रदर्शन गर्दै ऐतिहासिक जित दर्ता गरेको हो। ५२ वर्षपछि विश्वकपमा फर्किएको कंगोका लागि यो प्रतियोगिताको इतिहासमै सबैभन्दा ठूलो उपलब्धि बनेको छ।

यस संस्करणमा समूह चरण पार गर्ने कंगो आठौं अफ्रिकी राष्ट्र हो। अर्को अफ्रिकी टोली केप भर्डेले पनि यसअघि नकआउट चरणमा स्थान बनाएको थियो।

उज्बेकिस्तानले खेलको १०औं मिनेटमा एल्डोर शोमुरोदोभको लोब प्रहारमार्फत अग्रता लिएको थियो। पहिलो हाफभरि सोही अग्रता कायम राख्दै उज्बेकिस्तान जिततर्फ उन्मुख देखिएको थियो।

तर‚ दोस्रो हाफमा कंगोले खेलमा सानदार पुनरागमन गर्‍यो। ६८औं मिनेटमा योआने विस्सालाई पेनाल्टी क्षेत्रमा अब्दुकोदिर खुसानोभले लडाएपछि कंगोले पेनाल्टीको अवसर पायो। विस्साले आफैं पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए।

त्यसपछि ७८औं मिनेटमा फिस्टोन मायेलेले मेस्चाक एलियाको प्रहार डिफ्लेक्ट भएपछि नजिकको पोस्टबाट बललाई जाली चुमाउँदै कंगोलाई २–१ को अग्रता दिलाए।

इन्जुरी समयमा विस्साले अर्को उत्कृष्ट कर्लिङ प्रहारमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै कंगोको ऐतिहासिक जित सुनिश्चित गरे। कंगोले यसअघि प्रतियोगिताको पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलसँग १–१ को बराबरी खेल्दै सबैलाई चकित पारेको थियो। त्यसपछि पहिलो जित हासिल गर्दै उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा अन्तिम ३२ मा स्थान बनाउन सफल भयो।

कंगोको विश्वकपमा यसअघि एकमात्र सहभागिता सन् १९७४ मा ‘जाइर’ नामबाट भएको थियो। त्यसबेला टोलीले तीनवटै खेल गुमाएको थियो, जसमा युगोस्लाभियासँग ९–० को फराकिलो हार पनि समावेश थियो।