फ्रान्स र जर्मनीमध्ये एक टोली अन्तिम १६ मै घर फर्किने

फ्रान्स र जर्मनीमध्ये एक टोली अन्तिम १६ मै घर फर्किने


ग्लोब नेपाल
0
Shares

राउन्ड अफ ३२ को समीकरण पूरा भएसँगै अब विश्वकपमा दाबेदार रहेका र राम्रो प्रदर्शन गर्दै नकआउट चरणमा पुगेका टीमहरुबीच कहिले र कोसँग प्रतिस्पर्धा हुन्छ भन्नेबारे चासो बढेको छ । समूह ए बाट मेक्सिको समूह विजेता हुँदै नकआउट चरणमा प्रवेश गर्दा दक्षिण अफ्रिकाले उपविजेताका रुपमा नकआउटमा स्थान बनायो ।

यो समूहबाट दक्षिण कोरिया र चेक रिपब्लिक बाहिरिएका थिए । समूह बी मा स्विट्जरल्यान्ड समूह विजेता, क्यानडा उपविजेता र बोस्निया एन्ड हर्जगोभिना उत्कृष्ट तेस्रो टोलीका रुपमा नकआउट चरणमा पुगे ।

यो समूहबाट एसीयाली राष्ट्र कतार बाहिरियो। समूह सी मा ब्राजिल र मोरक्कोको समान ७–७ अंक रहेपनि गोल अन्तरका आधारमा ब्राजिल विजेता र मोरक्को समूह उपविजेता बन्यो । स्कटल्यान्ड र हाइटी बाहिरिए। यस्तै, समूह डी बाट अमेरिका विजेता र अष्ट्रेलिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरे। पाराग्वे पनि उत्कृष्ट तेस्रो टोली बन्दै नकआउट चरणमा पुग्दा टर्की बाहिरियो । समूह ई बाट जर्मनी विजेता र आइभरी कोस्ट उपविजेता बने ।

इक्वेडर उत्कृष्ट तेस्रो टोलीका रुपमा नकआउट चरणमा प्रवेश गर्दा पहिलोपटक विश्वकप खेलेको कुरासाओ बाहिरियो । समूह एफबाट नेदरल्यान्ड्स विजेता र जापान उपविजेताका रुपमा नकआउट चरणमा पुगे। यस्तै, तेस्रो स्थानमा रहेको स्विडेनले पनि उत्कृष्ट तेस्रो टोलीका रुपमा नकआउटमा स्थान बनायो। यो समूहबाट ट्युनिसिया बाहिरियो । समूह जी बाट बेल्जियम विजेता र इजिप्ट उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरे ।

यता, अन्तिम खेलमा अष्ट्रिया र अल्जेरियाले बराबरी खेलेसँगै यस समूहको तेस्रो स्थानको इरान बाहिरिन पुग्यो। न्युजिल्यान्ड पनि समूह चरणबाटै घर फर्कियो । समूह एच बाट स्पेन समूह विजेता बन्दा पहिलो पटक विश्वकप खेलेको केप भर्डले पहिलो सहभागितामै विश्वकपको नकआउटमा स्थान बनायो ।

दुईपटकको विजेता उरुग्वे भने तेस्रो स्थानमा रहँदै समूह चरणबाटै बाहिरियो। यस समूहको पुछारमा रहेको साउदी अरेबिया पनि बाहिरियो । समूह आई बाट फ्रान्स विजेता र नर्वे उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गरे। यस्तै, तेस्रो स्थानको सेनेगलले पनि उत्कृष्ट तेस्रो टोलीका रुपमा अन्तिम ३२ मा स्थान बनायो। तीन खेल सबैमा पराजित इटाली अंकविहिन रहँदै बाहिरियो। समूह जे मा शतप्रतिशत जितसहित अर्जेन्टिना समूह विजेता बन्यो ।

यस्तै, अष्ट्रियो दोस्रो तथा अल्जेरिया उत्कृष्ट तेस्रो रहँदै नकआउटमा प्रवेश गरे । पहिलोपटक विश्वकप खेलेको जोर्डन बाहिरियो। समूह के बाट कोलम्बिया विजेता र पोर्चुगल उपविजेताका रुपमा नकआउटमा प्रवेश गरे । तेस्रो स्थानको डीआर कंगोले पनि उत्कृष्ट तेस्रो स्थान हासिल गर्दै नकआउटमा स्थान बनायो ।

डेब्युटेन्ट उज्बेकिस्तान बाहिरियो। समूह एल बाट इंग्ल्यान्डले समूह विजेता र क्रोएसियाले उपविजेताका रुपमा अन्तिम ३२ मा स्थान बनाए । घाना उत्कृष्ट टोलीका रुपमा नकआउटमा पुग्दा पानामा अंकबिहिन रहँदै प्रतियोगिताबाट बाहिरियो।

दाबेदार टीमको भेट कहाँ र कहिले ?
३२ ओटा टोली दुई ब्राकेटमा बाँडिएका छन् । जसअनुसार चार पटकको विजेता जर्मनी र प्रमुख दाबेदार फ्रान्सको भेट अन्तिम १६ मा नै हुने भएको छ । यी दुईमध्ये एक टोलीको यात्रा अन्तिम १६ बाटै टुंगिनेछ। राउन्ड अफ ३२ मा जर्मनीले पाराग्वेसँग र फ्रान्सले स्विडेनसँग खेल्नेछ। दुवै टोलीले उक्त खेल जितेमा अन्तिम १६ मा दुई टोलीबीच भिडन्त हुनेछ र एक टोली घर फर्किनेछ ।

अर्कोतर्फ राउन्ड अफ ३२ को सबैभन्दा हेभिवेट म्याच नेदरल्यान्ड्स र मोरक्कोबीचको हुने अनुमान छ । यी दुई टोलीबीचको विजेताले क्यानडा र दक्षिण अफ्रिकाबीचको विजेतासँग खेल्नेछ भने क्वाटरफाइनलमा फ्रान्स र जर्मनीबीचको विजेतासँग उक्त विजयी टोलीको भेट हुनेछ ।

यसै ब्राकेटमा रहेका अर्को टोली पोर्चुगल र क्रोएसियाबीच पनि राउन्ड अफ ३२ मै भिडन्त हुनेछ । यस खेलको विजेताले राउन्ड अफ १६ मा स्पेन र अष्ट्रियाबीचको विजेतासँग खेल्नेछ । तसर्थ क्रोएसिया वा पोर्चुगलको भेट अन्तिम १६ मै स्पेनसँग हुनाले यमध्ये तीन टोली जो पनि अन्तिम १६ बाटै घर फर्किन सक्नेछन् ।

यता अर्को ब्राकेटमा ब्राजिलले राउन्ड अफ ३२ मा जापानसँग खेल्नेछ। एसियाको पावरहाउस जापानविरुद्ध पाँच पटकको च्याम्पियन ब्राजिललाई सहज भने पक्कै हुनेछैन। अर्कोतर्फ इंग्ल्यान्ड तुलनात्मक रुपमा कमजोर रहेको कंगोविरुद्ध राउन्ड अफ ३२ मा भिड्नेछ ।

उक्त खेलपछि इंग्ल्यान्डले मेक्सिको र इक्वेडरबीचको विजेतासँग अन्तिम १६ मा खेल्नेछ। उक्त खेल जितेमा ब्राजिल र इंग्ल्यान्ड क्वाटरफाइनलमा भेट हुनेछन्। एक टोली बाहिरिनेछ। साविक विजेता अर्जेन्टिनालाई भने सहज देखिएको छ। राउन्ड अफ ३२ मा पहिलोपटक विश्वकप खेलेको केप भर्ड प्रतिद्वन्द्वी पाएको अर्जेन्टिनाले त्यसपछि अष्ट्रिेलिया र इजिप्टबीचको विजेतासँग खेल्नेछ ।

अर्कोतर्फ स्विट्जरल्यान्ड र अल्जेरियाबीचको विजेताले अन्तिम १६ मा कोलम्बिया र घानाबीचको विजेतासँग खेल्नेछ। यसरी यी दुई खेल जितेर जाने टोलीको भेट क्वाटरफाइनलमा अर्जेन्टिनासँग हुनेछ । तसर्थ ब्राजिल र इंग्ल्यान्डमध्ये एक टोलीले जित्दै आएमा अर्जेन्टिनासँग सेमिफाइनमा मात्रै भेट हुनेछ।