काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले मूलकमा असाधारण काम गरेको दाबी गरेका छन् ।
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
एमालेको नीति, काम र गन्तव्य एकदमै सही दिशामा रहेको उनको जिकिर छ । उनले आफूले नीति परिवर्तन गर्नको लागि वाम एकताको कुरा नगरेको समेत स्पष्ट पारे । उनले मुलुकमा प्रतिगमन बढिरहेको भन्दै त्यसमाथि हस्तक्षेप गर्न वाम एकता जरुरी रहेको पनि बताए ।
उनले भने ‘हामीले असाधारण काम गरेका हौँ । हाम्रा नीतिहरू एकदमै सही छन् । र नीतिको लागि हामीले वामपन्थी एकताको कुरा गरेका होइनौँ । हाम्रा आर्थिक, सामाजिक नीति, परराष्ट्र नीति सबै ठिक छन् । सुखी नेपाली समृद्ध नेपाल नै हाम्रो नीति हो र हाम्रो समाजवाद हो । सुखी र समृद्धिको लागि पहिलो कुरा सुरक्षा हो । सुरक्षाबिना सुखी हुन सकिँदैन ।’
उनले जनताको बहुदलीय समाजवादको आधारमा पार्टी अगाडि बढ्ने कुरामा समेत जोड दिए ।


प्रतिक्रिया