काठमाडौं। जुड बेलिङ्घमको उत्कृष्ट प्रदर्शन र ह्यारी केनको निर्णायक पेनाल्टी गोलमा इङ्ग्ल्यान्डले आयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
अब इङ्ग्ल्यान्डले सेमिफाइनल प्रवेशका लागि शनिबार अमेरिकाको मियामी गार्डेन्समा नर्वेसँग प्रतिस्पर्धा गर्नेछ। ८० हजारभन्दा बढी दर्शक उपस्थित मेक्सिको सिटीस्थित प्रतिष्ठित एस्टाडियो एज्टेकामा बेलिङ्घमले ९८ सेकेन्डको अन्तरमा दुई गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध बनाए।
उनले ३६औं मिनेटमा हेडमार्फत पहिलो गोल गरे भने ३८औं मिनेटमा ह्यारी केनको पासलाई सदुपयोग गर्दै व्यक्तिगत दोस्रो गोल पूरा गरे। मेक्सिकाका लागि जुलियन किन्योनेसले ४२औं मिनेटमा गोल गर्दै खेललाई प्रतिस्पर्धात्मक बनाए।
दोस्रो हाफको ५४औं मिनेटमा इङ्ग्ल्यान्डका डिफेन्डर जारेल क्वान्साहले जेसुस गालार्डोमाथि खतरनाक ट्याकल गरेपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए। त्यसपछि १० खेलाडीमा सीमित भएको इङ्ग्ल्यान्ड दबाबमा परेको थियो।
तर‚ त्यसको केही समयपछि मेक्सिकाका गोलरक्षक राउल राङ्गेलको चुनौतीपछि इङ्ग्ल्यान्डले पेनाल्टीको अवसर पायो। कप्तान ह्यारी केनले पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई ३–१ को अग्रता दिलाए।
योसँगै केनले यस विश्वकपमा आफ्नो छैटौं तथा विश्वकप करिअरको १४औं गोल गरे। उनले पश्चिम जर्मनीका महान् स्ट्राइकर गर्ड मुलरको विश्वकप गोल संख्या बराबरी गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त पाँचौं स्थानमा पुगे।
गोल्डेन बुटको प्रतिस्पर्धामा भने केन अहिले ६ गोलसहित लिओनल मेसी, किलियन एमबाप्पे र एर्लिङ हालान्डभन्दा एक गोलले पछाडि छन्। रोचक रूपमा, केनले त्यसपछि पेनाल्टी गराइदिएका कारण मेक्सिकोले पनि पेनाल्टी पाएको थियो।
राउल जिमेनेजले सफल प्रहार गर्दै खेललाई ३–२ मा ल्याए। यससँगै सन् १९६६ यता विश्वकप इतिहासमा एउटै खेलमा गोल गर्ने र विपक्षीलाई पेनाल्टी दिलाउने पहिलो खेलाडी पनि केन बने।
खेलको अन्तिम २१ मिनेट तथा ११ मिनेटको इन्जुरी समयमा मेक्सिकोले लगातार आक्रमण गरे पनि इङ्ग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्ड र रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको अग्रता जोगाए।
यस हारसँगै मेक्सिकोको विश्वकप यात्रा समाप्त भएको छ। घरेलु मैदानमा खेल्दै आएको मेक्सिको सन् १९८६ यता पहिलो पटक पनि क्वार्टरफाइनल पुग्न असफल रह्यो। त्यसयता टोली आठौं पटक प्रि–क्वार्टरफाइनलबाट बाहिरिएको हो भने सन् २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो। साथै, सन् १९९० को विश्वकपमा मेक्सिको अयोग्य घोषित भएको थियो।


प्रतिक्रिया