आर्थिक वृद्धिदर सामान्य मात्रै

आर्थिक वृद्धिदर सामान्य मात्रै


ग्लोब नेपाल
0
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक (माघ–चैत) मा आर्थिक वृद्धिदर सामान्य अवस्थामा रहने राष्ट्रिय तथ्याङ्क कार्यालयले अनुमान गरेको छ । कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो अवधिमा ३.५१ प्रतिशतले आर्थिक वृद्धिदर हुने उल्लेख छ । वृद्धिदरको यो अनुमान मौसमी प्रभाव समायोजन नगर्दाको अवस्थामा हो ।

विद्युत् उत्पादन तथा वितरण, निक्षेप सङ्कलन तथा ऋण प्रवाह, निर्जीवन बिमा प्रिमियम सङ्कलन, व्यापार सेवालगायतका क्रियाकलापमा भएको वृद्धिले आर्थिक वृद्धिमा सहयोग पुग्ने कार्यालयले जनाएको छ । आर्थिक वृद्धिदर मापनका लागि कार्यालयले वर्गीकरण गरेका १८ वटा औद्योगिक क्षेत्रमध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादनको वृद्धिदर भने ऋणात्मक रहने कार्यालयको अनुमान छ ।

यसबाहेक गत आवको सोही अवधिको तुलनामा यस वर्ष निर्माण सामग्रीको आयात, धानबालीको उत्पादन तथा केही वस्तुको घरेलु उत्पादनमा आएको कमीले पनि यस अवधिको वृद्धिदर सामान्य मात्रै रहने कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार औद्योगिक क्षेत्र अनुसार तेस्रो त्रैमासिकमा विद्युत् तथा ग्यास सम्बन्धित क्रियाकलापको कुल मूल्य अभिवृद्धि दर सबैभन्दा धेरै अर्थात् २४.८८ प्रतिशतले हुने अनुमान छ । त्यसपछि वित्तीय तथा बिमासम्बन्धी क्रियाकलापको १०.२७ प्रतिशत, यातायात तथा भण्डारक्षेत्रको ७.८३ प्रतिशत र थोक तथा खुद्रा व्यापारको ५.२५ प्रतिशतको वृद्धिदर हुने अनुमान छ ।

कृषिक्षेत्रको मूल्य अभिवृद्धि दर केवल १.५८ प्रतिशत हुने अनुमान कार्यालयको छ । धानबालीको उत्पादनमा कमी आए पनि पशुपन्छी, तरकारी तथा फलफूल र वनपैदावारको उत्पादनमा भएको सामान्य वृद्धिले समग्र कृषिक्षेत्रको वृद्धिदरलाई सहयोग पु¥याउने कार्यालयले जनाएको छ ।

अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगट्ने थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर ५.२५ प्रतिशत वृद्धिदर हुने कार्यालयको अनुमान छ ।

खास गरी व्यापारजन्य स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धिले यस क्षेत्रको वृद्धिदर हुने अनुमान कार्यालयले गरेको छ । सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादनको भने व्रmमशः १.५१ प्रतिशत र ०.५४ प्रतिशतले ऋणात्मक वृद्धिदर हुने कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मौसमको प्रभाव समायोजन गर्दा सात वटा औद्योगिक क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनुमान छ । यसो हुँदा आर्थिक वृद्धिदर ०.५८ प्रतिशत हुने अनुमान कार्यालयले गरेको छ ।