काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीका आँखा रसाइरहेका थिए । फिफा विश्वकप अन्तर्गत एटलान्टा स्टेडियममा भएको खेलमा बीच मैदानमा उनी आफ्ना टोलीका खेलाडीहरूको काँधमा टाउको राखेर भक्कानिएका थिए ।
केही मिनेटअघिसम्म ती आँसु विश्वकपबाट दर्दनाक बिदाइका हुन सक्थे । तर खेल सकिँदासम्म तिनै आँसु राहत, गर्व र अर्को ऐतिहासिक पुनरागमनको खुसीमा बदलिएका थिए । विश्व च्याम्पियन अर्जेन्टिनाले अन्तिम २० मिनेट बाँकी रहँदा इजिप्टसँग २–० ले पछि परेको अवस्थामा विश्वकपबाट बाहिरिने खतरा थियो ।
स्टेडियमको विशाल स्क्रिनमा निराश मुद्रामा माथितिर हेरिरहेका ३९ वर्षीय मेसीको दृश्यले लाखौं समर्थकको मन भारी बनाएको थियो । त्यही क्षणमा कतिपयले यो विश्वकपमा उनको अन्तिम खेल हुन सक्ने अनुमान गरिरहेका थिए ।
तर अर्जेन्टिनाले हार मानेन । अन्तिम १४ मिनेटमा तीन गोल गर्दै अर्जेन्टिनाले खेललाई ३–२ मा पल्टायो र विश्वकप इतिहासकै सबैभन्दा रोमाञ्चक पुनरागमनमध्ये एक रच्यो । निराशाबाट सुरु भएको रात अन्त्यमा उत्सवमा बदलियो ।
विश्वकप इतिहासमा अर्को कीर्तिमान
- यो खेलसँगै मेसीले विश्वकपमा नयाँ इतिहास पनि रचे । उनी विश्वकपको नकआउट चरणमा लगातार छ खेलमा गोल गर्ने पहिलो खेलाडी समेत बन्न सफल भए ।
- जारी विश्वकपमा उनको गोल संख्या आठ पुगेको छ, जुन सन् १९७० मा जर्मनीका गर्ड मुलरले पहिलो पाँच खेलमा गरेको १० गोलयताकै उत्कृष्ट प्रदर्शन हो ।
- पछिल्ला नौ विश्वकप खेलमा मेसीले १६ गोलमा प्रत्यक्ष योगदान दिएका छन्, १३ गोल र तीन असिस्ट रहेका छन ।


प्रतिक्रिया