‘एक-चीन नीतिको प्रतिबद्धतामा परिवर्तन आएको हो ?’

‘एक-चीन नीतिको प्रतिबद्धतामा परिवर्तन आएको हो ?’


ग्लोब नेपाल
0
Shares

काठमाडौं । चीनका लागि नेपालका सात जना पूर्वराजदूतहरूले नागार्जुन नगरपालिका-२ स्थित नामग्याल विद्यालयमा १४औँ दलाई लामाको ९१औँ जन्मदिन मनाइएको घटनाप्रति चिन्ता व्यक्त गर्दै नेपाल सरकारले अवलम्बन गर्दै आएको एक-चीन नीतिप्रतिको प्रतिबद्धता दृढतापूर्वक पालना गर्न आग्रह गरेका छन्।

बिहीबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै उनीहरूले असार २२ गते नामग्याल विद्यालयमा आयोजित उक्त कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरूको समेत सहभागिता रहेको भन्ने सञ्चारमाध्यममा आएका समाचारप्रति आफूहरू चिन्तित भएको उल्लेख गरेका छन्।

वक्तव्यमा नेपालले सधैँ एक-चीन नीति दृढतापूर्वक अवलम्बन गर्दै आएको, नेपालको भूमिबाट कुनै पनि मित्रराष्ट्रविरुद्ध अप्ठ्यारो हुने वा प्रतिकूल असर पर्ने गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्याउँदै आएको स्मरण गराइएको छ। साथै, हालै परराष्ट्रमन्त्रीको चीन भ्रमणका क्रममा समेत उक्त प्रतिबद्धता पुनः व्यक्त गरिएको उल्लेख गर्दै त्यसमा कुनै परिवर्तन आएको हो भन्ने प्रश्न उठाइएको छ।

पूर्वराजदूतहरूले यदि उक्त कार्यक्रम नेपाल सरकारको सहमतिमा सम्पन्न भएको हो भने त्यसले नेपाल–चीनबीच दौत्य सम्बन्ध स्थापना भएदेखि कायम रहेको एक–चीन नीतिको प्रतिकूल सन्देश दिन सक्ने तथा नेपालले अवलम्बन गर्दै आएको भू-राजनीतिक सन्तुलनमा समेत नकारात्मक असर पार्न सक्ने बताएका छन्।

वक्तव्यमा यस्ता गतिविधि नेपालको स्थायित्व, विकास र स्वतन्त्रताका लागि प्रत्युत्पादक हुन सक्ने उल्लेख गर्दै नेपाल सरकार तथा सबै सरोकारवालालाई सतर्क र सचेत रहन आग्रह गरिएको छ। साथै, भविष्यमा यस्ता गतिविधि नदोहोरिने सुनिश्चितता गर्न तथा छिमेकी मुलुकसँगको सम्बन्धमा आवश्यक संवेदनशीलता अपनाउन सरकारको ध्यानाकर्षण गराइएको छ।

संयुक्त वक्तव्यमा चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णुपुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले यस्तो बताएको चीनका लागि पूर्वराज टंक कार्कीले जनाएका छन् ।