अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश

अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश


ग्लोब नेपाल
0
Shares

काठमाडौं। साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।

स्विट्जरल्यान्डलाई ३–१ गोलले हराउँदै अर्जेन्टिना सातौंपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो।
खेलको १० औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले लियोनल मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा अर्जेन्टिना १–० ले अघि रह्यो।

तर, ६७ औँ मिनेटमा डान एनडोयेले रिकार्डो रोड्रिगेजको पास सदुपयोग गर्दै स्विट्जरल्यान्डलाई १–१ को बराबरीमा फर्काए। त्यसको पाँच मिनेटपछि ब्रिल एम्बोलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भएको थियो।

निर्धारित समय बराबरीमा सकिएपछि अतिरिक्त समयको ११२ औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए।

उनले जोसे लोपेजको पासलाई गोलमा परिणत गरेका थिए। अतिरिक्त समयको इन्जुरी समयमा लाउटारो मार्टिनेजले थप गोल गर्दै अर्जेन्टिनाको ३–१ को जित सुनिश्चित गरे। ६९ हजार ४५ दर्शक उपस्थित खेलमा कठिन जित निकालेको अर्जेन्टिनाले अब फाइनल प्रवेशका लागि ईङ्ल्याण्डसँग खेल्नेछ ।