अमेरिकी केन्द्रीय कमाण्डको घोषणा: इरानी बन्दरगाहमा आजदेखि नाकाबन्दी

अमेरिकी केन्द्रीय कमाण्डको घोषणा: इरानी बन्दरगाहमा आजदेखि नाकाबन्दी

प्रतिबद्धता कार्यान्वयन रोक्ने इरानको चेतावनी



काठमाडौँ । अमेरिकी केन्द्रिय कमाण्डले मंगलवारदेखि इरानी बन्दरगाहहरूमा हुने आवतजावतमा पुनः नाकाबन्दी शुरु गर्ने घोषणा गरेको छ । सेन्टकॉमले सोमवार एक विज्ञप्ति जारी गर्दै यसअघि अप्रिल १३ देखि जुन १८ सम्म कार्यान्वयन गरिएको नाकाबन्दीलाई निरन्तरता दिन लागिएको जानकारी दिएको हो ।

सामाजिक सञ्जाल ‘एक्स’ मा सेन्टकॉमले दिएको जानकारी अनुसार, अघिल्लो दुई महिनाको नाकाबन्दीका क्रममा अमेरिकी बलले १४० भन्दा बढी जहाजहरूको मार्ग परिवर्तन गराएको थियो भने निर्देशन उल्लंघन गर्ने ९ वटा जहाजहरूलाई निष्क्रिय पारेको थियो ।

सोही अवधिमा मानवीय सहायता सामग्री बोकेका ५० भन्दा बढी व्यावसायिक जहाजहरूलाई भने आवतजावत गर्न अनुमति दिइएको सेन्टकॉमले जनाएको छ ।

प्रतिबद्धता कार्यान्वयन रोक्ने इरानको चेतावनी
संयुक्त राज्य अमेरिकाले गत महिना सम्पन्न द्विपक्षीय समझदारी पत्र अन्तर्गतका आफ्ना प्रतिबद्धताहरू उल्लंघन गर्ने क्रम जारी राखे इरानले पनि आफ्ना दायित्वहरू पूरा गर्न छोड्ने चेतावनी दिएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सोमवार राजधानी तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।

प्रवक्ता बाघेईले वर्तमान समझदारी ‘संकटको चरण’ मा प्रवेश गरेको उल्लेख गर्दै इरानले कहिल्यै पनि सम्झौताको उल्लंघन पहिले नगरेको स्पष्ट पारे । उनले पछिल्ला हप्ताहरूमा अमेरिकाले आफ्ना दायित्वहरूको निरन्तर उल्लंघन गरेको र समझदारीका विभिन्न प्रावधान एवं बुँदाहरूलाई क्षत–विक्षत पारेको आरोप लगाए ।