समस्याग्रस्त पाँच सहकारीका ४२ वचतकर्ताको १७ लाख वचत रकम फिर्ता

समस्याग्रस्त पाँच सहकारीका ४२ वचतकर्ताको १७ लाख वचत रकम फिर्ता


ग्लोब नेपाल
162
Shares

काठमाडौं । वागमती प्रदेश सरकारले समस्याग्रस्त पाँच वटा बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत रकम फिर्ता गर्न सुरु गरेको छ ।

मंगलबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ललितपुरको जावलाखेलस्थित वागमती प्रदेश सुशासन केन्द्रमा ४२ जना बचतकर्तालाई करिब १७ लाख रुपैयाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गरे ।

प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले समस्याग्रस्त पाँच सहकारीका १४ हजार ६४ जना बचतकर्ताले बचत फिर्ताका लागि दाबी गरेको जानकारी दिए ।

उनका अनुसार ती पाँच सहकारीमा ५१ हजार १ सय ९० सदस्यको करिब ३१ अर्ब ६ करोड रुपैयाँ बचत रहेको छ । त्यसमध्ये २२ अर्ब ३८ करोड रुपैयाँ बराबरको बचत फिर्ताका लागि दाबी परेको छ ।

मुख्यमन्त्री बानियाँले पहिलो चरणमा १० हजारदेखि एक लाख रुपैयाँसम्म बचत भएका साना बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गर्न थालिएको बताए ।

‘समस्याग्रस्त पाँच सहकारीका १४ हजार ६४ जना बचतकर्ताले २२ अर्ब ३८ करोड रुपैयाँ फिर्ताको माग गर्नुभएको छ । १० हजारदेखि एक लाख रुपैयाँसम्म बचत गर्ने, जीवनभरको संघर्षबाट रकम बचत गरेका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर रकम फिर्ता गर्न थालेका छौँ,’ उनले भने ।

सहकारीलाई राज्यले इजाजत दिए पनि प्रभावकारी अनुगमन हुन नसक्दा बचतकर्ताको रकम असुरक्षित बनेको स्वीकार गर्दै उनले अब सहकारी क्षेत्रको नियमन र अनुगमन थप कडा बनाइने बताए ।

उनले पहिलो चरणमा ४२ जना बचतकर्तालाई करिब १७ लाख रुपैयाँ वितरण गरिएको जानकारी दिँदै आगामी दिनमा सहकारीका ऋणी र सञ्चालकबाट रकम असुल गरी सबै बचतकर्ताको रकम फिर्ता गरिने बताए ।