काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने तयारी गरेको छ। यस विषयमा छलफल गर्न बसेको संसदीय दलको बैठकमा सहभागी सांसदहरूबीच मुख्यमन्त्रीबाट राजीनामा माग्ने विषयमा सहमति जुटेको जनाइएको छ। यद्यपि निर्णयलाई औपचारिकता दिन बाँकी रहेको बताइएको छ।
बैठकले प्रदेश सरकार कामचलाउ अवस्थामा पुगेकाले दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न आग्रह गर्ने तथा सरकार गठनका लागि नेकपाले आफ्नो दाबी प्रस्तुत गर्ने विषयमा समेत निर्णय लिन सक्ने जनाइएको छ। त्यसका लागि अन्य राजनीतिक दलसँग संवाद अघि बढाउने तयारी रहेको छ।
बैठकमा नेकपाका प्रदेश इन्चार्ज भानुभक्त जोशी, सहइन्चार्ज दीर्घ सोडारी तथा प्रदेश अध्यक्ष हरि चौधरी ‘उत्सव’ लगायतका नेताहरू सहभागी छन्।
केन्द्रमा नेपाली काँग्रेस र नेकपा (एमाले) बीचको संघीय सत्ता समीकरणबारे अन्तिम टुंगो नलागेसम्म प्रदेश तहमा नेकपाले दुवै दलसँग आन्तरिक छलफल जारी राखेको छ। सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठुलो दल भएकाले सरकारको नेतृत्व आफ्नो दलले पाउनुपर्ने नेकपाको दाबी छ।
सुदूरपश्चिम प्रदेशसभामा नेकपाका २२ सांसद रहेका छन्। यसमा निलम्बित सदस्य र सभामुखसमेत समावेश छन्। ठुलो दलको हैसियतमा नेकपाले काँग्रेससँग केवल बजेट पारित गर्ने विषयमा मात्र सहकार्य गरेर अघि बढ्न नसकिने धारणा यसअघि नै सार्वजनिक गरिसकेको छ।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ। हाल नेपाली काँग्रेससँग १८ सांसद रहेका छन्।


प्रतिक्रिया