काठमाडौँ । आज शुक्रबारदेखि आर्थिक वर्ष २०८३-८४ सुरु भएसँगै कर प्रणालीमा भएका नयाँ व्यवस्थाहरू कार्यान्वयनमा आएका छन्। यससँगै सेयर तथा घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढेको छ भने व्यक्तिगत आयकरको दर र स्ल्याबमा परिवर्तन गर्दै करदातालाई राहत प्रदान गरिएको छ।
अब सेयर एक वर्षभित्र बिक्री गर्ने लगानीकर्ताले १० प्रतिशत र एक वर्षभन्दा बढी होल्ड गरी बिक्री गर्नेले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ। यसअघि यी दर क्रमशः ७.५ प्रतिशत र ५ प्रतिशत थिए। सरकारले बजेटमार्फत सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर २.५ प्रतिशत बिन्दुले बढाएको हो।
घरजग्गा कारोबारमा पनि कर बढेको छ। पाँच वर्ष वा सोभन्दा बढी स्वामित्व रहेको घरजग्गा बिक्रीबाट प्राप्त नाफामा अब ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ भने पाँच वर्षभन्दा कम अवधिको स्वामित्व भएको घरजग्गा बिक्री गर्दा १० प्रतिशत कर तिर्नुपर्नेछ।
यता, व्यक्तिगत आयकरमा भने सरकारले राहत दिएको छ। नयाँ व्यवस्थाअनुसार वार्षिक १० लाख रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशत मात्रै कर लाग्नेछ। त्यसपछि आम्दानीको आधारमा १०, २०, २७ र अधिकतम २९ प्रतिशतसम्म कर लाग्ने व्यवस्था लागू भएको छ। यसअघि अधिकतम आयकर दर ३९ प्रतिशतसम्म रहेको थियो।


प्रतिक्रिया