इरानको हवाइ हमलामा परी दुई अमेरिकी सैनिकको मृत्यु भए पछि अमेरिका थप आक्रामक देखिएको छ। जोर्डनस्थित एउटा सैन्य आधार शिविरमा भएको इरानी आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको हो । सो इरानी हमलामा एकजना बेपत्तासमेत भएका छन ।
अमेरिका र इरानबीच लगातार नवौं दिन पनि आक्रमणको आदानप्रदान जारी छ।
इरानी सञ्चारमाध्यमका अनुसार दक्षिण पश्चिमी सहर दार्खोभेनमा निर्माणाधीन आणविक ऊर्जा केन्द्र र केश्म टापुमा रातको समयमा आक्रमण भएको थियो। कुवेतमा पनि एउटा विद्युत् तथा पानी प्रशोधन केन्द्रमा दोस्रो पटक आक्रमण भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
त्यसपछि आइतबार जोर्डनको सेनाले इरानका तीनवटा क्षेप्यास्त्र खसालेको र चौथो क्षेप्यास्त्र दुर्गम क्षेत्रमा खसेको जोर्डनको सरकारी समाचार संस्थाले जनाएको छ। जोर्डनको अकाबा बन्दरगाहलाई लक्षित गर्न सकिने अमेरिकी चेतावनी पछि यो घटना भएको हो।
हालैका दिनहरूमा अमेरिका र इरानले एक अर्काविरुद्ध आक्रमण बढाएका छन् र दुवै पक्षले एकअर्काले महत्त्वपूर्ण पूर्वाधारमा आक्रमण गरेको आरोप लगाएका छन्।
सुरु भएको एक महिनाभन्दा कम समयमै प्रारम्भिक युद्धविराम भङ्ग भएपछि वासिङ्टनले इरानी बन्दरगाहहरू माथि पुनः नाकाबन्दी लगाएको छ भने तेहरानले तेल ढुवानीको मुख्य मार्ग मानिने होर्मुज जलसन्धि बन्द भएको घोषणा गरेको छ।
आइतबार, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले जलसन्धि भएर नजान दिइएको चेतावनीलाई बेवास्ता गर्ने दुईवटा जहाज दुर्घटनामा परेको जनाएको छ। उसले अमेरिकाको प्रभावमा रहेका र असुरक्षित मार्ग प्रयोग गर्ने सबै जहाजहरूले निश्चित रूपमा दुर्घटनाको सामना गर्नुपर्नेसमेत चेतावनी दिएको छ।
अमेरिकी सेनाले इरान माथि गरेको लगातार नवौं रातको आक्रमणको उद्देश्य होर्मुज जलसन्धिमा व्यावसायिक जहाजहरूलाई धम्की दिने इरानको क्षमतालाई अझ कमजोर बनाउनु र गए राति जोर्डनमा अमेरिकी सैनिकहरू माथि आक्रमण गर्ने इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सका फौजलाई तत्काल कारबाही गर्नु रहेको बताएको छ।
जोर्डनको उक्त केन्द्रभित्र खिचिएको पुष्टि भएको भिडियो फुटेजमा कम्तीमा दुईवटा प्रहार र एउटा विस्फोट देखिएको थियो ।


प्रतिक्रिया