स्पेन–अर्जेन्टिना विश्वकप फाइनलपछि भएको झडपबारे छानबिन सुरु

स्पेन–अर्जेन्टिना विश्वकप फाइनलपछि भएको झडपबारे छानबिन सुरु


ग्लोब नेपाल
81
Shares

फिफाले स्पेन-अर्जेन्टिनाबीचको विश्वकप फाइनलपछि मैदानमै भएको खेलाडीबीचको झडपबारे छानबिन सुरु गरेको जनाएको छ। उक्त खेलमा स्पेनले अतिरिक्त समयमा १–० को जित निकाल्दै अर्जेन्टिनालाई हराएर विश्वकप उपाधि जितेको थियो।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनुशासन समितिले खेल प्रतिवेदनको अध्ययन गरेपछि घटनाको अनुसन्धान सुरु गरिएको जनाएको हो। अतिरिक्त समयमा निर्णय भएको निकै तनावपूर्ण खेलको अन्त्य खेलाडीबीचको झडपका कारण अप्रिय बनेको थियो।

फिफाले अल जजिरालाई दिएको विज्ञप्तिमा भनेको छ, ‘फिफाको अनुशासन समितिले खेलपछि भएका घटनामा फिफा अनुशासन संहिता उल्लङ्घन भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान गर्न अनुशासन तथा आचारसंहिता अभियोजक नियुक्त गरेको छ।’ अनुसन्धान पूरा भएपछि त्यसको निष्कर्ष र निर्णय सार्वजनिक गरिने पनि फिफाले जनाएको छ।

स्पेनले दोस्रो पटक विश्वकप जितेको खुसी मनाइरहेका बेला मैदानमा झडप भएपछि उत्सवमा खलल पुगेको थियो। खेलभर दुवै टोलीका खेलाडी र प्रशिक्षकबीच तनाव तथा भनाभन भइरहेकाले यस्तो घटना हुने संकेत पहिले नै देखिएको थियो।

अतिरिक्त समय सकिएपछि रेफ्रीले अन्तिम सिटी बजाउँदा केही खेलाडी खुसी र निराशामा मैदानमै ढले। तर त्यसपछि दुवै टोलीका केही खेलाडीबीच हात हालाहाल भएको थियो।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा स्पेनका युवा स्टार लामिन यामाल घुँडा टेकेर भगवानलाई धन्यवाद दिइरहेका देखिन्छन्। त्यही बेला पछाडिपट्टि अर्जेन्टिनाका केही खेलाडीले स्पेनका खेलाडीमाथि आक्रमण गरिरहेको दृश्य देखिन्छ।

अर्जेन्टिनाका डिफेन्डर लिएन्ड्रो परेडेसले स्पेनका एरिक गार्सियाको घाँटी समातेका थिए। त्यसपछि बीचमा छुट्याउन आएका स्पेनका वैकल्पिक खेलाडी गाभीलाई पनि उनले धकेलेर लडाइदिएका थिए।

अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनी तुरुन्तै घटनास्थलमा पुगेर परेडेसलाई छुट्याउन सफल भए। तर त्यसपछि पनि परेडेसले केही स्पेनिस खेलाडीतर्फ जान खोजेपछि आफ्नै टोलीका खेलाडीले उनलाई रोक्नुपरेको थियो।

खेलपछि केही खेलाडीले एकअर्कासँग हात मिलाए। विशेषगरी स्पेनका लामिन यामाल र अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले आत्मीय रूपमा अंकमाल गरेका थिए। तर समग्रमा दुवै टोलीबीचको वातावरण भने चिसिएको देखिन्थ्यो।

पुरस्कार वितरणअघि स्पेनका खेलाडीले उपविजेता अर्जेन्टिनाका खेलाडीलाई सम्मानस्वरूप ताली बजाउँदै स्वागत गरेका थिए। तर अर्जेन्टिनाका खेलाडीले भने स्पेनले स्वर्ण पदक र विश्वकप ट्रफी ग्रहण गर्दा उनीहरूतर्फ फर्केर नहेरी पिठ्युँ फर्काएका थिए।

फिफाको अनुसन्धान कहिले सकिन्छ र खेलाडीमाथि कुनै कारबाही हुन्छ वा हुँदैन भन्नेबारे अहिलेसम्म स्पष्ट भएको छैन।