एमालेका मन्त्रीहरू ५ दिनपछि हेटौंडा फर्किए, आज राजीनामा बुझाउँदै

एमालेका मन्त्रीहरू ५ दिनपछि हेटौंडा फर्किए, आज राजीनामा बुझाउँदै


ग्लोब नेपाल
135
Shares

काठमाडौं । बागमती प्रदेश सरकारबाट एमालेका ६ जना मन्त्रीहरूले अन्ततस् आज राजीनामा बुझाउने भएका छन । एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ ।

आज (बुधबार) बिहान मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालयमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई भेटेर राजीनामा बुझाउन लागिएको सरकारमा एमालेबाट नेतृत्व गरेका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलले जानकारी दिएका छन ।

गत ३२ असारमा मन्त्रिपरिषद् बैठक सकेर काठमाण्डू फर्किएका सबै मन्त्रीहरू ५ दिनपछि मंगलबार राति हेटौंडा आइपुगेका छन् ।

मन्त्रीहरूलाई ३२ असार र २ साउनमा गरेर २ पटकसम्म राजीनामा दिन लगाएर पार्टी नेतृत्वले रोक्दै आएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ५ साउन मंगलबार प्रदेशहरूमा सत्ता सहर्काय बारे छलफल भएपछि एमाले मन्त्रीहरूलाई राजीनामा दिन स्पष्ट निर्देशन प्राप्त भएको मन्त्री पौडेलले जानकारी दिए । ‘हामी सबै जना हेटौंडा आइपुगेका छौं ।

आजै राजीनामा बुझाउँछौं, उनले भने । सरकारमा एमालेबाट नेतृत्व गर्दै कृषि, पशुपन्छी वन तथा वातावरण मन्त्री पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा.दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा यातायात विषय हेर्ने गरि मन्त्री जयराम थापा, कृषि मन्त्रालयमा वन तथा वातावरण विषय हेर्ने गरी मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य विषय हेर्ने गरि मन्त्री किरण थापा र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ रहेका छन् ।