वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण राजमार्ग अवरुद्ध भएका छन् । भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका हुन् । कतिपय सडक पूर्ण रूपमा बन्द छन् भने कतिपयमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।

कोशी प्रदेशका भोजपुर, इलाम र खोटाङमा सडक अवरोध देखिएको छ। मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुरको जोखिममा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा छ। त्यस्तै, मेची राजमार्गको इलाम (राजदुवाली खण्ड) अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ, जहाँ वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिइएको छ। खोटाङको माम्खामा गएको पहिरोका कारण मध्य पहाडी लोक मार्गमा पनि सवारी साधन एकतर्फी मात्र चलिरहेका छन्।

बागमती प्रदेशका प्रमुख सडकहरूमा बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। वि.पि. राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४:०० देखि साँझ ६:०० बजेसम्म मात्र परिस्थितिको विचार गरी सवारी चल्न दिइनेछ।

कान्ति लोकपथको हेटौँडा-ठिङ्गन-ललितपुर खण्डमा बाढी र पहिरोको जोखिमका कारण साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी चलाउन निषेध गरिएको छ। अरनिको राजमार्ग सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी दुवै स्थानमा पहिरो गएका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

रसुवा उत्तरगयाको खाल्टेस्थित त्रिशुली मैलुङ स्याफ्रुबेशी जाने कच्ची सडकखण्डमा त्रिशूली नदीको बाढीले कटान गर्दा सडक अवरुद्ध भएको छ । मुगुको छायानाथ रारा नगरपालिका–७ पिना खोलास्थित नाग्म–गमगडी सडकखण्डमा माथिबाट ढुंगासहितको पहिरो आइरहेकाले बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले बताएको छ ।