काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको बताएका छन् । शनिवार नरबहादुर कर्माचार्यको १३ औं स्मृति दिवसमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका छन् ।
संयोजक दाहालले अहिले कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिष्ट आन्दोलनलाई फेरि एकतावद्ध गर्न जरुरी रहेको उल्लेख गरे।
कम्युनिष्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने संकल्प गर्नुपर्ने समय आएको बताए। देशको स्वाधीनतामाथि आइपरेको संकट समाधान गर्न, कम्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्न र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरी रहेको बताए।
संयोजक दाहालले भने, ‘अहिले नेपालको कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको बेलामा हामीले कमरेड पुष्पलाल, कमरेड नरबहादुर कर्माचार्य जस्ता नेताहरूलाई स्मरण गर्दै कम्युनिष्ट आन्दोलनलाई फेरि एकतावद्ध गर्ने, कम्युनिष्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने संकल्प गर्नुपर्ने अहिले अवस्था छ । जतिबेला हामी कमरेड पुष्पलाल वा कमरेड नरबहादुर कर्माचार्यप्रति श्रद्धा र सम्मान प्रकट गर्छौँ, यतिबेला हाम्रो लागि यो औपचारिक कार्यक्रमजस्तो मात्रै छैन ।
औपचारिकता पूरा गरेजस्तो मात्रै होइन । हामीले साँच्चै नै देशमा अहिले राष्ट्रिय स्वाधीनतामाथि आइपरेको संकट समाधान गर्ने, कम्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्ने, कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने र देशमा देखा परेको निरङ्कुश प्रवृत्तिका विरुद्ध, निरङ्कुशताका विरुद्ध फेरि एक चोटि संघर्ष गर्ने दृढ अठोट गर्ने, संकल्प गर्ने कुरा पनि हो यो श्रद्धाञ्जली वा सम्मान कार्यक्रम, हामी सबैले यसलाई त्यसै रूपमा लिनुपर्छ ।’
संयोजक दाहालले देशमा निरंकुश प्रवृत्ति देखा परेको र त्यसकाविरुद्धमा एक पटक पुनः संघर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।


प्रतिक्रिया