नागढुंगा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन आज

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन आज


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नागढुंगा सिस्नेखोला सुरुङ मार्गको आज औपचारिक रूपमा उद्घाटन हुँदैछ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागिएको हो ।

पूर्वाधार विकासमन्त्रीको प्रमुख आतिथ्यमा सोमबार बिहान १० बजेर २५ मिनेट जाँदा सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम अनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको उद्घाटन गर्ने भएका हुन् । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन र अन्य अत्यावश्यक सवारीसाधनलाई पहिलो चरणमा प्रवेश दिइने भएको छ। केही दिन सुरुङमार्ग पूर्ण रूपमा परीक्षण गरेर सबै वर्गका सवारीसाधनलाई सञ्चालन गर्न दिने तयारी गरिएको छ ।

सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारीसाधनलाई सञ्चालन हुन दिइने जनाइएको हो । परीक्षण अवधिभर सुरुङमार्ग भएर सञ्चालन हुने सवारीसाधनले कुनै शुल्क तिर्नुपर्ने छैन । कूल २ हजार ६ सय ८८ मिटर लामो सुरुङ मार्गमा सवारीसाधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्नेछ ।

सडक विभागले कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० शुल्क तिर्नुपर्ने जनाएको हो । मिनीबस, ट्रक र टिपरले काठमाडौँतर्फ आउँदा १ सय १५ र बाहिरिँदा ८० बराबरको शुल्क बुझाउनुपर्नेछ । त्यस्तै, बस, ट्रकले काठमाडौं आउँदा २ सय ६० र बाहिरिँदा २ सय रुपैयाँ बराबरको शुल्क तिर्नुपर्ने विभागले जनाएको हो।