बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनको कपटपूर्ण कार्यशैली र छलछामले पार्टीको मूल नीति, सिद्धान्त, राष्ट्रवादी आन्दोलन र कार्यकर्तापंक्तिलाई ठूलो धोका भएको भन्दै बाँके जिल्लाका १२० जना नेताहरुले राप्रपा परित्याग गरेका छन् ।
सोमबार सामुहिक राजीनामा दिनेहरुमा केन्द्रीय सहायक महामन्त्रीहरु हिक्मत ढकाल र ऋषिराज देवकोटा, केन्द्रीय सदस्यहरु ओमप्रकाश आजाद, लक्ष्मी हमाल र गौरव चन्द, केन्द्रीय सल्लाहकार लक्ष्मी श्रेष्ठ, लुम्बिनी प्रदेश संयोजक नितु चन्द र जिल्ला अध्यक्ष नरेन्द्र पौडेल छन् ।
त्यसैगरी राप्रपाका सबै जिम्मेवार त्याग्नेहरुमा जिल्ला उपाध्यक्षहरु तुलाराम शाही र विन्दु चर्ती मगरलगायत क्षेत्रीय अध्यक्ष, प्रदेस समिति अध्यक्ष, नगर अध्यक्ष, जनवर्गीय संगठनका केन्द्र तथा जिल्लाका पदाधिकारी, जिल्ला समितिलगायत विभिन्न तहका नेता, पदाधिकारी तथा क्रियाशील सदस्यहरु समेत छन् ।
लिङदेनले पार्टीको विचारप्रति इमानदार नरही बारम्बार आन्दोलन तुहाउने कार्य गरेको, प्रदेश खारेजी भन्दै सभामुख र उपसभामुख खाएको, प्रदेशसभाबाट राजीनामा दिने औपचारिक घोषणा गरे पनि हालसम्म प्रदेशको तलब भत्ता खाइरहेको जस्ता आरोपहरु सामूहिक राजीनामा पत्रमा उल्लेख छ ।
राप्रपाबाट सामुहिक राजीनामा दिने नेताहरुको समूह डा. धवलशम्सेर राणाको नेतृत्वमा बन्न लागेको राजनीतिक दलमा समाहित हुने सम्वद्ध सुत्रको भनाइ छ ।
सडक र सदन दुबै विकल्प अवलम्बन गर्ने राप्रपा महाधिवेशनको निर्णय लत्याएर लिङदेनले भर्खरै बाँके आएर पत्रकार सम्मेलनमा आन्दोलन राप्रपाको एजेण्डाभित्र नपर्ने भनेर बोलेको विषयप्रति राजीनामा दिने समूहले कडा आलोचना गरेका छन् ।
लिङदेन महाधिवेशन सम्पन्न गर्न इमानदार नदेखिएको, महाधिवेशन निष्पक्ष सम्पन्न गर्न तीन पूर्वअध्यक्षहरुले दिएको सुझाव स्वीकार नगरेको र पूर्वअध्यक्षहरुले पार्टीको लेटरप्याड दुरुपयोग गरेको भन्दै सार्वजनिक रुपमै मानमार्दन गरेको जस्ता विषयसमेत राजीनामा पत्रमा समावेश छ । कर्मकाण्डी महाधिवेशन गरेर नेतृत्व हत्याउन लिङदेनले तानाबाना बुनीरहेको भनिएको छ ।
गत चुनावमा राप्रपाका ९७ प्रतिशत उम्मेदवारको जमानत जफत भएको, अध्यक्ष स्वयंले चुनाव हारेबाट जनतामाझ राप्रपाको विश्वास गुमेको राजीनामा पत्रमा भनिएको छ ।


प्रतिक्रिया