सर्लाही । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा साउन १० गते राति भएको हिंसात्मक घटनाको विरोधमा हिन्दु सम्राट नेपालले बुधबार सर्लाही जिल्लाभर बन्दको घोषणा गरेको छ।
संगठनले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा कप्तानगञ्जमा भएको गोली प्रहार, दमन तथा हिंसात्मक घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कानुनी कारबाही, घटनाको निष्पक्ष छानबिन तथा पीडित परिवारलाई न्याय दिलाउन दबाब दिन सर्लाही सदरमुकाम मलंगवासहित जिल्लाभर बन्द आह्वान गरिएको उल्लेख गरेको छ।
एक जनाको मृत्यु, २४ जना घाइते
आइतबार राति देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडप हिंसात्मक बन्दा एक जनाको मृत्यु भएको थियो भने सुरक्षाकर्मीसहित २४ जना घाइते भएका थिए।
घाइतेमध्ये नौ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरी बलका कर्मचारी रहेको जनाइएको छ।
अत्यावश्यक सेवाबाहेक अन्य क्षेत्रमा असर पर्ने अनुमान
बन्दका कारण अत्यावश्यक सेवाबाहेक सार्वजनिक यातायात, बजार तथा शैक्षिक गतिविधिमा प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।
सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले जिल्लामा शान्ति-सुरक्षा कायम राख्न आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए।
छानबिन समिति गठन
घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
यसैबीच, विभिन्न पक्षले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।


प्रतिक्रिया