ईपीएस आवेदकको चाप बढेपछि राहदानी विभाग दुई सिफ्टमा सञ्चालन

ईपीएस आवेदकको चाप बढेपछि राहदानी विभाग दुई सिफ्टमा सञ्चालन


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)का लागि आवेदन दिने नेपाली सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ।

विभागले सूचना जारी गर्दै साउन १४ गतेदेखि २२ गतेसम्म विद्युतीय राहदानीसम्बन्धी सेवा दुई सिफ्टमा सञ्चालन गरिने जनाएको छ।

विभागका अनुसार पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ।

यसैगरी, सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म विभागबाट सेवा प्रवाह गरिने राहदानी विभागले जनाएको छ। नेपाली जनतालाई सहज र प्रभावकारी सेवा प्रवाह गर्न विभाग पूर्ण रूपमा प्रतिबद्ध रहेको सूचनामा उल्लेख छ।