काठमाडौं । प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोपछि सम्पर्कविहीन भएको आशंका गरिएको छ।
पाकिस्तानका पर्वतारोहण अधिकारीका अनुसार बिहीबार दिउँसो करिब १२ बजे कराकोरम पर्वत शृङ्खलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरो गएको थियो। त्यसपछि टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन।
आरोही टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच जना नेपाली रहेको बताइएको छ।
टोलीका नेता निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल करिब ६ महिनामै आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए।
अल्पाइन क्लब अफ पाकिस्तानका उपाध्यक्ष करार हैदरीले बीबीसीसँग कुरा गर्दै मौसम अनुकूल भए शुक्रबार बिहान हेलिकोप्टरमार्फत उद्धार अभियान सञ्चालन गर्ने तयारी भइरहेको बताए।
ब्रोड पिकलाई आरोहण गर्न निकै कठिन हिमालमध्ये एक मानिन्छ। यो विश्वको १२औँ अग्लो हिमाल हो।
अल्पाइन क्लब अफ पाकिस्तानले छुट्टै विज्ञप्ति जारी गर्दै सबै उपलब्ध स्रोत–साधन परिचालन गरी सकेसम्म छिटो उद्धार कार्य अघि बढाउन सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको जनाएको छ।
क्लबले सबै आरोही सुरक्षित रहून् र उनीहरूको सफल उद्धार होस् भन्ने कामना गर्दै यस कठिन घडीमा उनीहरूका परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति ऐक्यबद्धता पनि व्यक्त गरेको छ।
निर्मल पुर्जा सन् २००३ मा बेलायती सेनामा भर्ना भएका थिए भने सन् २००९ मा रोयल मरीन बनेका थिए।
उनको पर्वतारोहण यात्रा सन् २०१२ मा एभरेष्ट आधार शिविरसम्म पुगेपछि सुरु भएको हो। सुरुमा आधार शिविरबाट फर्किने योजना भए पनि उनले त्यसैबेला एभरेष्टको शिखर आरोहण गर्ने निर्णय गरेका थिए।


प्रतिक्रिया