डुबेर तीन बालकको मृत्यु, मृतक तीनै जना सहोदर दाजुभाइ

डुबेर तीन बालकको मृत्यु, मृतक तीनै जना सहोदर दाजुभाइ


ग्लोब नेपाल
0
Shares

उदयपुर । उदयपुरको कटारीमा एकै परिवारले तीन बालक गुमाएको छ । हडैयास्थित खहरे खोलामा पौडी खेल्ने क्रममा डुबेर तीन दाजुभाईको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ ।

कटारी नगरपालिका–३ हडैयामा भएको घटनामा स्थानीय ११ वर्षीय सुमितकुमार दनुवार, ८ वर्षीय सुगमकुमार दनुवार र ७ वर्षका आदित्यकुमार दनुवारको ज्यान गएको प्रहरीले जनाएको छ । मृतकहरु तीनै जना सहोदर दाजुभाई रहेको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार खहरे खोलामा बाँध लगाउँदा बनेको गहिरो खाल्डोमा जमेको पानीमा पौडी खेल्न गएका बेला तीनै बालक डुबेका थिए । घटना भएको जानकारी पाएलगत्तै स्थानीय बासिन्दाले उद्धारको प्रयास गरेका थिए ।

पानीबाट निकालेर तीनै जनालाई उपचारका लागि कटारी प्रादेशिक अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी उपेन्द्र खरेलले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार मृतक बालकहरूको शव पोस्टमार्टमका लागि कटारी प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले घटनाको अवस्था र कारणबारे थप विवरण संकलन गरिरहेको जनाएको छ ।