काठमाडौं । देवानगञ्ज घटनामा मृत्यु भएका परिवारहरूले शव बुझ्न अस्वीकार गरेका छन् । सरकारसँग औपचारिक सहमति भइसकेपछि पनि सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज गोली काण्डमा मृत्यु भएका दुई युवाको शव बुझ्न परिवार र आफन्तले अस्वीकार गरेका हुन ।
गए राती गृहमन्त्री सुधन गुरुङसँग भएको सहमतिमा आज शव बुझ्ने सहमति भएको थियो । सहमतिपछि पनि परिवारले शव नबुझेपछि मृतकको अन्तेष्टी अन्योलमा परेको छ । स्थानीयको विरोध र असन्तुष्टीपछि शव बुझ्न विराटनगर आएका परिवारका सदस्य गाउँ फिर्ता भएका छन ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शव बुझ्न अवरोध गर्नेहरूसँग छलफल भइरहेको जानकारी दिए । उनले प्रहरीले समन्वय गरेर मिलाउने प्रयास भइरहेको जानकारी दिएका छन । गत आइतबार राति देवानगञ्ज गाउँपालिका कप्तान गन्जमा दुई समुदायका बिचमा भएको विवादका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा स्थानीय ओमप्रकाश मेहताको घटना स्थलमै मृत्यु भएको थियो ।
यस्तै गोली लागेर घाइते भएका जयप्रकाश मेहताको बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो । दुवै मृतकको शव हाल विराटनगरस्थित न्युरो अस्पतालको शव गृहमा राखिएको छ । सरकार र मृतक पक्षबिच बिहीबार राति सहमति भए पनि परिवारले शव नबुझ्ने अडान लिएपछि पोस्टमार्टम प्रक्रिया समेत अघि बढ्न सकेको छैन ।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा देवानगञ्ज गाउँपालिकाको कार्यालयमा भएको छलफलपछि सरकार र पीडित पक्षबिच औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । मृतक परिवारले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएपछि सहमति भएको हो ।
सहमति पत्रमा सरकारले मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, घटनाका दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने तथा मृतकहरूको सम्झनामा स्मृति पार्क निर्माण गर्ने उल्लेख छ ।


प्रतिक्रिया