काठमाडौं । एमाले बागमती प्रदेशको संसदीय दलको नेता परिवर्तन नगर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार बसेको बैठकले दलको नेता परिवर्तन नहुने र वर्तमान दलका नेता जगन्नाथ थपलिया (जेएन)लाई नै निरन्तरता दिने सहमति भएको एमाले उच्च स्रोतले जानकारी दिएको छ ।
लामो आन्तरिक कसरत, शक्ति परीक्षण र नेतृत्व विवादपछि एमालेले अन्ततः थपलियालाई नै दलको नेतामा निरन्तरता सुम्पिने निर्णय गरेको हो । दलभित्र नेतृत्व परिवर्तनको तीव्र दबाबका बिच अन्तिम समयमा शीर्ष नेतृत्वले हस्तक्षेप गर्दै थपलियामै सहमति जुटाएको हो ।
बाम गठबन्धनको तर्फबाट एमालेले बागमती प्रदेशको सत्ता नेतृत्व पाएपछि दल नेताको विषय विवादित बन्दै आएको थियो । दलको नेता टुङ्गिए पनि बागमती सरकारको नेतृत्व विषयमा भने समस्या देखिएको छ ।
एमालेले दलको नेता थपलियालाई नै प्रदेशको नयाँ मुख्यमन्त्री बनाउने विषय भने चुनौतीपूर्ण रहेको एमालेका एक सदस्यले जानकारी दिए । शुक्रबार दलको नेता परिवर्तनका विषयमा हस्ताक्षर पनि सङ्कलन भएको थियो । नेतृत्वले मिलाउँछु भनेर सङ्कलित हस्ताक्षर दर्ता नगरी राखिएको थियो ।
अन्ततः दलको नेतामा जेएन नै निरन्तर जाने निर्णय भएको उनले जानकारी दिएका छन । केन्द्रमा नेकपा र एमालेबिच भएको सत्ता साझेदारीको सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने निश्चित भएपछि दलभित्र मुख्यमन्त्रीको प्रतिस्पर्धा चर्किएको थियो ।
संसदीय अभ्यासअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने परम्परा रहे पनि दलभित्रको ठूलो समूहले नेतृत्व परिवर्तनको माग गरेपछि केही दिनयता एमालेभित्र शक्ति सङ्घर्ष देखिएको थियो । गत साउन ९ गते एमाले र नेकपाबिच बागमती सरकारको नेतृत्व एमालेले लिने सहमति भएपछि संसदीय दलको नेतृत्व परिवर्तनको अभियान सुरु भएको थियो ।
वर्तमान नेता थपलियाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सचिव महेश बस्नेत निकट समूहले नेतृत्व परिवर्तनका लागि हस्ताक्षर अभियान नै चलाएको थियो । स्रोतका अनुसार २५ सदस्यीय एमाले संसदीय दलमध्ये १९ सांसदले किरण थापा मगरलाई नयाँ संसदीय दलको नेता बनाउन हस्ताक्षर गरेका थिए ।


प्रतिक्रिया