तस्करीको अडियो सार्वजनिक भएपछि सशस्त्रमा हलचल

तस्करीको अडियो सार्वजनिक भएपछि सशस्त्रमा हलचल

इन्स्पेक्टरमाथि छानबिन, डीएसपीको सरुवा


ग्लोब नेपाल
162
Shares

रौतहट। नेपाल-भारत सीमामा तस्करी नियन्त्रणको जिम्मेवारीमा खटिएको सशस्त्र प्रहरीभित्र सार्वजनिक भएको एक अडियोले संगठनभित्र तरंग उत्पन्न गरेको छ।

बीओपी सरमुजवाका इन्स्पेक्टर गणेश बोहरा र एक कथित तस्करबीच भएको भनिएको संवादको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सशस्त्र प्रहरीले घटनाको छानबिनलाई तीव्र बनाएको हो।

घटनापछि इन्स्पेक्टर बोहरालाई छिन्नमस्ता बाहिनी तानेर अनुसन्धान सुरु गरिएको छ। साथै प्रस्तावित भन्सार गुल्म गौरका प्रमुख डीएसपी प्रेमसागर बिष्टलाई पनि सरुवा गरिएको सुरक्षा स्रोतले जनाएको छ। उनको स्थानमा सशस्त्र प्रहरी नम्बर ७ बैद्यनाथ बाहिनी, कैलालीबाट डीएसपी दुर्गा प्रसाईं भट्टलाई खटाइएको स्रोतको दाबी छ।

यद्यपि सार्वजनिक भएको अडियोको आधिकारिक प्रामाणिकता अहिलेसम्म पुष्टि भएको छैन। त्यसैले अडियोको फरेन्सिक परीक्षणसहित निष्पक्ष र तथ्यमा आधारित अनुसन्धान हुनुपर्ने माग स्थानीय तह तथा सामाजिक सञ्जालमा उठिरहेको छ।

यसक्रममा छिन्नमस्ता बाहिनीका प्रवक्ता एसएसपी सुभाष भण्डारीको नेतृत्वमा पुगेको टोलीले बीओपी सरमुजवा क्षेत्रमा स्थानीय जनप्रतिनिधि, व्यापारी तथा सर्वसाधारणसँग इन्स्पेक्टर बोहराको कार्यशैलीबारे राय संकलन गरेको छ। केही स्थानीयले घरायसी प्रयोजनका सामानमा कडाइ गरिए पनि संगठित तस्करीलाई संरक्षण दिएको आरोप लगाएका छन्। तर ती आरोपहरूको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

यसैबीच छिन्नमस्ता बाहिनीका प्रमुख डीआईजी विष्णुप्रसाद भट्टले संगठनभित्र आचरणविपरीतका गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाइएको बताउँदै अनुसन्धानबाट दोषी प्रमाणित हुने जोसुकैमाथि पनि कानुनबमोजिम कडा कारबाही गरिने संकेत दिएका छन्।

जिल्ला भन्सार कार्यालय गौरका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सशस्त्र प्रहरीले ४ करोड ५ लाख १९ हजार रुपैयाँ तथा नेपाल प्रहरीले ५ करोड ५५ लाख १८ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएका छन्।

संवेदनशील मानिने रौतहट-भारत सीमामा बेलाबेला यस्ता प्रकृतिका घटना सार्वजनिक भइरहँदा सीमा सुरक्षा प्रणालीको प्रभावकारिता, तस्करी नियन्त्रण र सुरक्षा निकायको जवाफदेहितामाथि पुनः बहस सुरु भएको छ। घटनाको वास्तविकता भने जारी अनुसन्धान र फरेन्सिक परीक्षणको प्रतिवेदनपछि मात्रै स्पष्ट हुने अपेक्षा गरिएको छ।