एमाले-नेकपा गठबन्धनद्वारा लुम्बिनी मन्त्रिपरिषद् पुन:गठनकाे तयारी

एमाले-नेकपा गठबन्धनद्वारा लुम्बिनी मन्त्रिपरिषद् पुन:गठनकाे तयारी


ग्लोब नेपाल
0
Shares

दाङ । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीचको नयाँ सत्ता समीकरणअनुसार लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुन:गठनको तयारी सुरु भएको छ । दुवै दलबीच मन्त्रालय बाँडफाँड, मन्त्रीहरूको जिम्मेवारी र सरकारको साझा कार्ययोजनाबारे छलफल भइरहेको छ ।

भोली सोमबारसम्म मन्त्रिपरिषद् पुनर्गठन गरी सरकारलाई पूर्णता दिने तयारी गरिएको छ । यससँगै मुख्यमन्त्रीमा भने चेतनारायण आचार्यलाई नै निरन्तरता दिने सहमति भएको छ । प्रदेश सरकारको लागी केन्द्रमा एमाले र नेकपाबीच सत्ता सहकार्य गर्ने सहमति भएपछि लुम्बिनी प्रदेशमा पनि एमालेको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो ।

यसअघि नेपाली काँग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता आचार्य मुख्यमन्त्री बनेका थिए । काँग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि एमाले र नेकपाबीच नयाँ सत्ता समीकरणअनुसार सरकार गठनको प्रक्रिया अघि बढेको हो ।

नयाँ सत्ता समीकरण बनेपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि एमालेका शीर्ष नेताबीच बिहीबार भएको छलफलले आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति गरेको हो ।

भक्तपुरको गुण्डुमा एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोख्रेल, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्वमुख्यमन्त्री लिला गिरीबीच भएको छलफलले आफूलाई नै निरन्तरता दिने सहमती भएको मुख्यमन्त्री आचार्यले बताए ।

८७ प्रदेश सभा सदस्य रहेको लुम्बिनी प्रदेश सभामा हाल ८३ जना सदस्य छन् । सरकार गठनका लागि न्यूतम ४४ सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा एमालेका २९, नेपाली काँग्रेसका २७, नेकपाका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, जनता समाजवादी पार्टी नेपालका तीन, जनमत पार्टीका तीन, जनता समाजवादी पार्टीका दुई, राष्ट्रिय जनमोर्चाका एक र एक जना स्वतन्त्र सांसद छन् । एमालेका २९ र नेकपाका १३ गरी सत्ता गठबन्धनसँग ४२ सांसदको समर्थन हुन्छ ।

बहुमतका लागि थप दुई सांसद आवश्यक पर्ने देखिन्छ । हाल सरकारमा सहभागी जनता समाजवादी पार्टीका दुई सांसदको समर्थन प्राप्त हुने भएकाले नयाँ सरकार गठनमा समस्या नहुने नेकपाका संसदीय दलका नेता महराले बताए ।