काठमाडौँ । नेपाली काँग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको बढ्दो आन्तरिक विवाद समाधान र संगठन सुदृढीकरणका लागि ‘देश र काँग्रेस जोड्ने अभियान’ को घोषणा गरेका छन् । आइतबार काठमाडौँमा देश र काँग्रेस जोड्ने अभियानद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता महरले आगामी साउन २० गते काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरिने जानकारी दिए ।
पार्टी विभाजनको सँघारमा पुगेको र आन्तरिक किचलोका कारण जनताका मुद्दा ओझेलमा परेको उल्लेख गर्दै नेता महरले पार्टीलाई एकजुट बनाउन दबाबमूलक कार्यक्रम सुरु गरिएको बताए ।
उनले भने ‘राष्ट्रिय मुद्दामा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको सन्दर्भलाई आत्मसात् गर्दै हामीले ‘देश र काँग्रेस जोड्ने अभियान’ सुरु गरेका छौँ । हामी विश्वास गर्छौँ कि विश्वासिलो र एकताबद्ध नेपाली काँग्रेसले मात्रै जनताको विश्वास पुनः जित्न सक्छ, लोकतन्त्रको प्रभावकारी रक्षा गर्नसक्छ र देशलाई सही राजनीतिक दिशामा अगाडि बढाउन सक्छ । यही नै हाम्रो अभियानको मूल उद्देश्य हो ।’
देश विषम परिस्थितिबाट गुज्रिरहेको बेला प्रमुख प्रतिपक्षी दल आफैँभित्र अल्झिनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ । नेता महरले सुनसरीबाट सुरु भई मधेस प्रदेशका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गरे । हिंसामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरूको शीघ्र उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे ।
नेता महरकाअनुसार साउन २० गते सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ बजेदेखि राष्ट्रिय भेला हुनेछ । उक्त भेलामा देशभरका ७ सय ५३ स्थानीय तह, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र १ सय ६५ संघीय निर्वाचन क्षेत्रका प्रतिनिधि एवं विभिन्न प्रबुद्ध वर्गसहित करिब दुई हजार जनाको सहभागिता रहने बताइएको छ ।
अभियानको उद्देश्य कुनै व्यक्ति वा गुटको स्वार्थ नभई काँग्रेसलाई जनतासँग जोड्नु रहेको उनले प्रस्ट पारे । पार्टीको १५ औँ महाधिवेशनलाई निष्पक्ष र धाँधलीरहित बनाउन अनुशासन समिति, निर्वाचन समिति र सदस्यता छानबिन समिति जस्ता महत्त्वपूर्ण निकायहरूमा सबै समूहको सर्वसम्मत प्रतिनिधित्व हुनुपर्ने माग अभियानले अघि सारेको छ ।
नेता महरले पार्टी सभापति र पदाधिकारीहरूलाई व्यक्तिगत अहं (इगो) त्यागेर पार्टी मिलाउन आग्रह गरे । उनले पार्टीलाई जीवन्त राख्न आफूहरू केन्द्रीय सदस्यको पद त्याग गर्न समेत तयार रहेको बताए ।
पत्रकार सम्मेलनमा नेता रञ्जित कर्ण लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो । अभियानले साउन २० को भेलापश्चात् देशभर हस्ताक्षर संकलन र अन्य दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ । ‘काँग्रेस जुट्दा लोकतन्त्र बलियो हुन्छ र लोकतन्त्र बलियो भए मात्र देश बलियो हुन्छ’ भन्ने संकल्पका साथ यो अभियान अघि बढाइएको नेता महरले बताए ।


प्रतिक्रिया