मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन: श्रम मन्त्रालय

मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन: श्रम मन्त्रालय


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा मन्त्रालयकै संलग्नतामा सिन्डिकेट कायम गर्न खोजिएको भन्ने कुरा सत्य नभएको बताएको छ ।

विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मन्त्रालयलाई जोडेर निश्चित वैदेशिक रोजगार व्यवसायी (म्यानपावर)लाई फाइदा पुग्ने गरी एकाधिकार जमाउन लागिएको समाचार सार्वजनिक भएपछि मन्त्रालयले विज्ञप्तिमार्फत उक्त कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो ।

मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रलाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र श्रमिकमैत्री बनाउने विषयमा आफू प्रतिबद्ध रहेको जनाएको छ । प्रतिस्पर्धालाई सीमित गरेर केही व्यवसायीको एकाधिकार कायम हुन नदिन मन्त्रालय सधैँ सचेत र क्रियाशील रहेको बताइएको छ ।

मौजुदा नीतिगत, कानुनी र प्रक्रियागत सुधारका काम भइरहेको अवस्थामा भ्रममा नपर्न सम्बद्ध सबै पक्षलाई मन्त्रालयले आग्रह गरेको छ। मलेसिया सरकार (गन्तव्य मुलुक)बाट पनि यस विषयमा कुनै आधिकारिक जानकारी प्राप्त नभएको र कूटनीतिक पहल मार्फत वैदेशिक रोजगारलाई थप पारदर्शी र मर्यादित बनाउन मन्त्रालय प्रयत्नशील रहेको विज्ञप्तिमा जनाइएको छ।