काठमाडौं । विद्यालय तहमा आठ वटा नयाँ पाठ्यक्रम थपिने भएको छ । पाठ्यक्रमको मसौदा बनाएर स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पेस गरिएको छ । यससँगै विद्यालय तह (कक्षा एकदेखि १२ सम्म) का लागि निर्माण गरिएको पाठ्यक्रमको सङ्ख्या ३ सयभन्दा बढी पुगेको छ ।
शिक्षा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को हालै सम्पन्न बैठकले ८ वटा नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमै सिफारिस गरिसकेको छ । शिक्षामन्त्रीकै अध्यक्षतामा बैठक बसे पनि फेरि स्वीकृतिका लागि भने मन्त्रालयमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्था अनुसार पाठ्यक्रमको मसौदा सिफारिस गरिएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक तथा परिषद्का सदस्यसचिव युवराज पौडेलले बताए ।
पछिल्लो समय आधारभूत शिक्षा (कक्षा ६–८) अन्तर्गत मातृभाषा समूहका अवधि र मगर ढुट विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गरिएको छ । त्यस्तै माध्यमिक शिक्षा (कक्षा ९–१०) का जनसङ्ख्या अध्ययन र तन्त्रशास्त्र विषयका पाठ्यक्रम पनि स्वीकृतिका लागि सिफारिस गरिएको हो ।
माध्यमिक शिक्षा (कक्षा ११–१२) अन्तर्गत संवैधानिक कानुन, देवानी तथा फौजदारी कानुन र न्याय, कार्यविधि कानुन, कानुनी मसौदा तथा विधिशास्त्र एवं नेपाली कानुनी प्रणाली विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गरिएको पौडेलले बताए ।
मन्त्रालयले अन्तिम स्वीकृति दिएपछि पाठ्यक्रम विद्यालय तहमा कार्यान्वयनको प्रक्रिया अघि बढाइने छ । नयाँ सिफारिस गरिएका समेत पाठ्यक्रमलाई समेट्दा विद्यालय तहको कक्षा एकदेखि १२ सम्म पढाउन तयार पारिएको पाठ्यक्रम तीन सयभन्दा बढी पुगेको छ ।


प्रतिक्रिया